काठमाडौं– आज दिउँसो १ बजे संसद्को विशेष अधिवेशन बैठक बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ।
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतमाथि आज मतदान सक्ने गरी प्रक्रिया तय गरेको छ।
प्रतिनिधि सभाका केही सदस्यलाई कोरोना संक्रमण देखिएको समयमा बस्न लागेको बैठकमा संक्रमितले पनि मतदान गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ।
समितिको हिजो सम्पन्न बैठकले स्वास्थ्य मापदण्ड अपनाउँदै सुरक्षित तरिकाले मतदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।
सबै सदस्यले मतदान गर्न पाउने गरी तयारी गरिएको संसद सचिवालयले जनाएको छ। कोरोना संक्रमित सांसदलाई छुट्टै बस्ने गरी बाहिरै पालको व्यवस्था गरिएको छ।
उनीहरुलाई एम्बुलेन्समार्फत सुरक्षित तरिकाले मतदानस्थलसम्म ल्याइने र मतदान प्रक्रियामा सहभागी गराइने सचिवालयले जनाएको छ।
संक्रमित सांसदलाई चिकित्सकीय निगरानीमा राखिने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए हाल प्रतिनिधि सभाका २६ जना सांसद संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।