काठमाडाैं- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आइतबार भएकाे लिग चरणको अन्तिम खेलमा प्ले अफमा स्थान पक्का गरिसकेको काठमाडौं रेजर्सले एफसी चितवन पराजित गरेकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा काठमाडौंले चितवनलाई २-१ ले पराजित गरेकाे हाे। याेसँगै चितवन जितविहीन हुँदै प्रतियाेगिताबाट बाहिरिएकाे छ। लिगमा चितवनले ६ खेल खेल्दा दुई बराबरी र चार हारको नतिजा निकाल्यो।
काठमाडौंका मेसौके ओलुमोउ र सन्जोक राईले गोल गर्दा चितवनका राजीव लोप्चनले एक गोल फर्काए।
१६औं मिनेटमा विश्वास उदासको लामो पासमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौं रेजर्सलाई अग्रता दिलाए।
३३औं मिनेटमा सन्जोकले गोल गर्दै काठमाडौंको अग्रता दोब्बर पारे। विश्वास श्रेष्ठको क्रसलाई सन्जोकले सहजै फिनिस गरेका थिए।
४०औं मिनेटमा राजीवले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए। सुनिल श्रेष्ठको प्रहारलाई गोलरक्षक रोमन रसाइलीले रोकेपनि रिवाउन्डमा राजीवले गोल गरे।
काठमाडौंका विश्वास उदास इमर्जिङ प्लेय अफ दि म्याच घोषित भए। उनले १० हजार रुपैयाँ हात पारे। काठमाडौंकै तेज तामाङ प्लेयर अफ दि म्याच घोषित भए। उनले ट्रफीसँगै २५ हजार रुपैयाँ हात पारे।
काठमाडौंले लिगको ६ खेलबाट ४ जित र १ बराबरी र १ हारबाट १३ अंक जोडेकाे छ।
शीर्ष दुई टोली धनगढी र काठमाडौंले फाइनलमा प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ। यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा हुने ललितपुर र बुटवल लुम्बिनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ। फाइनल १ जेठमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।