काठमाडौं- उपत्यकामा निषेधाज्ञा जारी भएपश्चात बैदेशिक रोजगारबाट फर्किने र जरुरी कामका लागि बाहिरका जिल्लाहरु जाने यात्रुहरुसँग काउण्टरका कर्मचारीहरुले ६ गुणा बढीसम्म भाडा अशुल्ने गरेकाे पाइएकाे छ।
दैनिकजसो बढी भाडा अशुलेर यात्रु ठगी गर्ने कार्यमा संलग्न काउण्टरका कर्मचारीहरु ट्राफिक प्रहरीको फन्दामा पर्दै आएका छन्।
हालसम्म महाशाखाले २१ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको महानगरीय ट्राफिक महाशाखाका एसपी जनक भट्टराईले बताए। यसले महामारीको अवस्थामा मौकाको फाइदा लिने समूह सक्रिय रहेको देखाउँछ।
यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिनेलाई कारबाही गर्न डेडिकेटेड सिभिल टोलीसमेत परिचालन गरिएको एसपी भट्टराईले जानकारी दिए।
उनका अनुसार टोलीले काउण्टरहरुमा गएर निगरानी गर्ने, यात्रुको भेषमा भाडा बार्गेनिङ गर्ने, गोप्यरुपमा बुझ्ने र यात्रुसँग सोधपुछ गर्ने गर्दछ। टोलीले आइतबारमात्रै ४ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको एसएसपी भट्टराईले बताए।
‘हामी निरन्तर अनुगमन र गोप्य निगरानी गरिरहेका छौं। तोकिएकोभन्दा बढी भाडा लिएको पाइए जोसुकैलाई नियन्त्रणमा लिन्छौं,’ एसएसपी भट्टराईले भने।
निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गरेको हो।
ट्राफिक प्रहरीले काठमाडौंको ढुङ्गेधाराबाट बझाङ्ग जयपृथ्बी नगरपालिका ८ का वर्ष २४ को योगेन्द्र बोहोरा र वर्ष ३० का आकाश बिष्ट पक्राउ परेका छन्।
ना ८ख८४९४ नम्बरको शुभ बिहानी यातायातमार्फत् धनगढी जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएकाे अभियाेगमा उनीहरुदाई पक्राउ गरिएकाे हाे।
त्यसैगरी, थाहा नगरपालिका ३ मकवानपुर घर भई बालाजु बस्ने वर्ष ३२ को अमृत बिष्ट र गोरखा घर भई मित्रनगर बस्ने वर्ष ४५ को सोम बहादुर गुरुङलाई नयाँ बसपार्कबाट पक्राउ गरिएकाे छ।
उनीहरुले धनगढी जाने यात्रुसँग प्रति ब्यक्ति चार हजारदेखि पैतालिस सयसम्म लिने गरेको महाशाखाले जनाएको छ।
पक्राउ परेका चार जनालाई आवश्यक कारबाहीको लागि प्रहरी बृत्त बालाजुमा बुझाएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।