काठमाडौं– सुनसरीकी गोविन्दमाया विश्वकर्माको हत्या र लुटपाटको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
घटनाको अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय, धरानले हत्यामा संलग्नहरुलाई १४ दिनपछि नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ पर्नेमा मोरङ पथरी ३ घर भई हाल धरान बस्ने ३८ वर्षीय सन्तोष भन्ने वीरबहादुर परियार, मोरङ पथरी शनिश्चरे ५ पिपलडाँडाका ३५ वर्षीय सोनी राई र धरान १३ अमरहाटकी २९ वर्षीया लक्ष्मी लिम्बू रहेका छन्।
धरान उपमहानगरपालिका १५ पूर्वेली पथमा ८४ वर्षीया गोविन्दमायाको गत वैशाख ११ गते बिहान साढे ११ बजे धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
प्रहरीका अनुसार बिहान सवा ९ बजेतिर बुहारी झरना विश्वकर्मा र छोरा जोहन विश्वकर्मा पूजा गर्न घर बाहिर गएका थिए। उक्त मौकामा लुटेरा समूह घरभित्र प्रवेश गरी लुट्न लागेको थियो।
गोविन्दमायाले प्रतिवाद गरेपछि लुटेरका समूहले टाउकोलगायत शरिरका बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए। त्यसपश्चात उनीहरुले नगद २ लाख र घरमा रहेका सुनका गरगहना गरी ११ लाख ४० हजार ९५० बराबरको धनमाल डाका गरी लगेकाे प्रहरीले जनाएकाे छ।
घटनामा घाइते भएकी गोविन्दमायालाई उपचारकाे लागि न्यूरो अस्पताल, विराटनगर पठाइएको थियो। उपचारको क्रममा उनकाे बैशाख १९ गते मृत्यु भएको थियो।
पक्राउ परेका समूहले लुटेर लगेको गहनाहरु सोनी राईले बहिनी नाता पर्ने लक्ष्मी लिम्बूलाई लुकाईछिपाई राख्न दिएको भनि खुल्न आएपश्चात लक्ष्मीको कोठा खानतलासी गर्दा सुनका गहनाहरुसमेत फेला पारेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान र डाँका मुद्धामा कारवाही प्रकृया अगाडि बडाइएको सुनसरी प्रहरीले जानकारी दिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।