काठमाडौं - बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा प्ले अफमा स्थान पक्का गरिसकेको धनगढी एफसीलाई १-०ले पराजित गर्दै बुटवलले आफ्नाे स्थान सुरक्षित गरेकाे हाे।
बुटवललाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे। उनले खेल सकिन १० मिनेट बाँकी रहँदा गोल गरेका थिए।
८०औं मिनेटमा सुमनले ओमोलाजा नुरेन करिमले दिएको पासमा गोल गरेका हुन्।
बुटवलले प्ले अफमा स्थान पक्का गरेसँगै पोखरा थन्डर्स प्रतियाेगिताबाट बाहरिएकाे छ। समान ८ अंक रहेपनि बुटवलले हेड टु हेडमा बाजी मारेकाे हाे। धनगढी एफसी र काठमाडौं शीर्ष दुईमा रहँदा ललितपुर तेस्रो र बुटवलले चौथो स्थानमा चित्त बुझायाे।
बुटवलका सुमन इमर्जिङ खेलाडी घोषित भए। उनले १० हजार रुपैयाँ हात पारे। बुटवलकै विलियम ओपोकु प्लेय अफ दि म्याच घोेषित भए। उनले ट्रफीसँगै २५ हजार रुपैयाँ हात पारे।
धनगढी १० अंक जोडेर शीर्ष स्थानमा रहँदा समान १० अंक नै भएपनि काठमाडौं दोस्रो स्थानमा छ। काठमाडौंले एक खेल खेल्न बाँकी छ।
ललितपुरले ९ तथा बुटवलले ८ अंक जोड्यो। पोखराले ८ अंक जोड्दा विराटनगरले ७ तथा पुछारमा रहेको एफसी चितवनले २ अंक जोडेको छ। चितवनले एक खेल खेल्न बाँकी छ। लिगमा आइतबार काठमाडौं र चितवनबीच प्रतिस्पर्धा हुनेछ।
अब शीर्ष दुई टोली धनगढी र काठमाडौंले फाइनलमा प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ।
यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा ललितपुर र बुटवलको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ। फाइनल १ जेठमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।