काठमाडाैं- ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्ले अफमा पुगेकाे हाे।
ललितपुरका लागि कप्तान अन्जन बिष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक/एक गाेल गरे। ३६औं मिनेटमा अन्जनले हाफ भलीमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाए।
उनले मिक्चेन तामाङको कर्नरमा विमलको हेडर प्रयासलाई गोलरक्षक किशोर गिरीले बचाउदा रिवाउन्डमा आएकाे बललाई जाली चुमाएका थिए। ६३औं मिनेटमा अन्जनले दिएकाे पासलाई सदुपयाेग गर्दै विमलले ललितपुरको अग्रता दोब्बर बनाए।
८० औं मिनेटमा विक्रम धिमालले विमललाई लडाएपछि ललिपुरले फ्रिकिक पाएकाे थियाे। कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा अन्जनले हेडरमार्फत् गोल गर्दै ललिपुरलाई जिततर्फ अगाडि बढाए।
८५औं मिनेटमा विराटनगर १० खेलाडीमा समेटियो। विमललाई पुन: फल गरेपछि विक्रम दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए। इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जाहिदले गोल गर्दै ललितपुरलाई ४-० को फराकिलो जित दिलाए।
ललितपुरका डोना थाप इमर्जिङ खेलाडी घोषित भए। उनले १० हजार रुपैयाँ हात पारे। ललितपुरकै कप्तान अन्जन प्लेयर अफ दि म्याच घोषित भए। उनले २५ हजार रुपैयाँ हात पारे।
जितसँगै ललितपुरको ६ खेलबाट ९ अंक पुगेको छ। ललितपुर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ।
हार बेहोरेकाे विराटनगर प्ले अफमा पुग्न असफल भएको छ। अब पोखरा थन्डर्स र बुटवल लुम्बिनी मध्ये एक टोली प्ले अफमा पुग्नेछ।
योसँगै प्ले अफ पुग्ने ४ मध्ये ३ टोलीको टुंगो लागेको छ। धनगढी एफसी र काठमाडौं रेजर्स यसअघि नै प्ले अफमा पुगिसकेका छन्।
यता लुम्बिनीलाई प्ले अफमा पुग्न धनगढीविरुद्ध जित निकाल्नुपर्छ। बराबरी या हारले पोखराले प्ले अफमा स्थान पक्का गर्दा लुम्बिनी बाहिरिनेछ।
धनगढी १० अंक जोडेर शीर्ष स्थानमा रहँदा समान १० अंक नै भएपनि काठमाडौं दोस्रो स्थानमा छ। विराटनगर ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ। यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ। फाइनल १ जेठमा हुनेछ।
विवादको घेरामा रेफ्री
रेफ्रीको निर्णयमा बारम्बार आपत्ती जनाएको विराटनगरले ७ मिनेट मैदान छाड्दा खेल रोकिएको थियो।
६३औं मिनेटमा ललितपुरले दोस्रो गोल गरेपछि आफूले दुई पटक पाएकाे पेनाल्टी रेफ्रीले वेवास्ता गरेको भन्दै विराटनगरका सबै खेलाडीले मैदान छाडेका थिए।
त्यसकाे ६ मिनेटपछि विराटनगरका खेलाडी मैदान भित्र प्रवेश गरेपछि पुनः खेल सुरु भएको थियो।
एनएसएलमा प्रशिक्षकले रेफ्रीको स्तरमाथि प्रश्न गरेको यो पहिलो पटक भने हैन। यसअघि विराटनगरकै प्रशिक्षक यान ल र बुटवल लुम्बिनिका प्रशिक्षक सनोज श्रेष्ठले पनि रेफ्रीको निर्णयमाथी प्रश्न गरेका थिए।
एनएसएलका अधिकांश टिमका प्रशिक्षक रेफ्रीको निर्णयबाट सन्तुष्ट छैनन्। सबै टिम रेफ्रीको निर्णयलाई लिएर असन्तुष्टि पोखिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।