काठमाडाैं- स्पेनिस ला लिगा फुटबलमा आज (शुक्रबार) दुई उपाधि दाबेदार क्याटलान क्लब बार्सिलोना र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ।
यी दुईबीचकाे खेल नेपाली समयअनुसार राति ८ बजे बार्सिलोनाकाे घरेलु मैदान क्याम्प नोउमा हुनेछ।
ला लिगामा ३४ चरणको खेल सम्पन्न भइसकेकाे छ। अब ४ खेल मात्रै बाँकी छ। यसबीचमा एट्लेटिको, रियल मड्रिड र बार्सिलोना प्रतिस्पर्धाको मुख्य दाबेदारकाे रुपमा प्रस्तुत भइरहेका छन्।
हाल एट्लेटिकोको ७६ र रियल तथा बार्सिलोनाको समान ७४-७४ अंक छ। घरेलु मैदानमा एट्लेटिकोलाई हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लने दाउमा हुनेछ।
आजकाे खेल जित्न सके बार्सिलोनाले शीर्षस्थानको एट्लेटिकोलाई १ अंकले तथा दोस्रो स्थानको रियललाई ३ अंकले पछि पार्नेछ। तर, बार्सिलाेनाले खेल हारे उसले उपाधि यात्रा लगभग समाप्त हुनेछ। त्यसैले याे खेलमा हुने हार जितले उपाधि विजेताकाे टुङ्गाे लाग्ने छ।
दुई स्टारहरुमा विशेष नजर
आजकाे खेलमा बार्सिलोनाका एन्टोनी ग्रिजम्यान र एट्लेटिकोका लुइस स्वारेजमाथि विशेष नजर हुनेछ।
दुवैका लागि याे खेल केही भावनात्मक रुपमा पनि अर्थपूण हुनेछ। किनभने गत सिजन स्वारेजलाई पूर्वक्लब प्रमुख जोसेप मारिया बार्टेमेउले बार्सिलाेनाबाट विदा गरेका थिए। यस्तै ग्रिजम्यान पनि एट्लेटिकाे छाडेर बार्सिलाेना आएका हुन्।
यी दुवै खेलाडीले आ-आफ्नाे क्लबबाट यो सिजन राम्रो प्रदर्शन गरिरहेका छन्। दुवैले यो सिजन समान १९ गोल गरेका छन्।
ग्रिजम्यानले ला लिगामा १२, च्याम्पियन्स लिग र सुपर कोपा डि स्पानामा समान २ र कोपा डेल रेमा ३ गोल गरेका छन्। ग्रिजम्यानले ४७ र स्वारेजले ३४ खेलमा त्यो गोल गरेका हुन्।
पछिल्ला साताहरुमा ग्रिजम्यान उच्च फर्ममा छन् र नियमित रुपमा गोल गरिरहेका छन्। चोटमुक्त भएर फर्केपछि भने स्वारेजले गोल गर्न सकेका छैनन्। यदि दुवैमध्ये कुनै पनि खेलाडी गोल गर्न सफल हुन्छन् भने त्यो उपाधिका लागि निर्णायक पनि हुनसक्छ।
खेल अगाडि स्वारेजलाई सम्मान
बार्सिलाेना र एट्लेटिकोबीचको खेल अगाडि स्वारेजलाई सम्मान गरिनेछ।
स्वारेजले बार्सिलाेनामा ६ सिजन बिताएर च्याम्पियन्स लिग, घरेलु लिगलगायतका उपाधि जितेका थिए।
स्वारेजले दिएको योगदानको कदर गर्दै बार्सिलाेनाले घरेलु मैदानमा उनको सम्मान गर्न लागेको मार्काले जनाएकाे छ।
हेड टू हेड
यी दुई टोली अहिलेसम्म ३२ पटक आम्नेसाम्ने भइसकेका छन्। जसमा बार्सिलोना १८ खेलमा विजयी भएको छ।
१० खेल बराबरीमा सकिँदा ४ खेल एट्लेटिकोले जितेकाे छ।
तर, पछिल्लो तीन भेटमा बार्सिलोनाले एट्लेटिकोलाई हराउन सकेको छैन।
बार्सिलाेना टाेली
लिओनल मेसी (कप्तान), एन्टोनी ग्रिजम्यान, जोर्डी अल्वा, पेड्री, सर्जियो बुस्क्वेट्स, फ्रान्की डि योङ, सर्जिनो डेस्ट, सर्जी रोबर्टाे र इलाक्स मोरिवा, क्लेमेन्ट लेङ्लेट, जेरार्ड पिके, रोनाल्ड एराउजो र टेर स्टेगन रहेका छन्।
एट्लेटिको टाेली
यान्निक कारास्को, कोकी, थोमस लेमार, लुइस स्वारेज, मार्काेस लोरेन्टे, काइरन ट्रिपिएर, मारियो हर्माेसो, जोस जिमिनेज, एन्जल कोरेआ, जियोफ्रे कोनडोग्विया, जोआओ फेलिक्स, फिलिपे, सउल निग्वेज, स्टेफन साभिक र जान ओब्लाक (गोलरक्षक) रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।