काठमाडाैं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञाको समयमा यात्रु ठगी गर्ने टिकट काउन्टरका सात जनालाई पक्राउ गरेको छ।
उपत्यकामा निषेधाज्ञा जारी भएपश्चात् वैदेशिक रोजगारबाट आएका र अत्यावश्यक परी उपत्यकाबाहिरका जिल्ला जानुपर्ने यात्रुहरुसँग तोकिएको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीहरुलाई कलंकी र बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा सावित्रा काउण्टर कलंकीमा कार्यरत मनु अर्याल र उनकै छोरा अनु अर्याल, नारायणी यातायात काउण्टरका टिकट बुकिङ स्टाफ नवराज घिमिरे, विपिन सुवदी र जय नेपाल सुपर डिलक्सका बुकिङ ईन्चार्ज ज्ञानेन्द्र साह रहेका छन्।
उनीहरुले धनुषा, महोत्तरी र वीरगञ्ज जाने यात्रुहरु संकलन गरी प्रतिव्यक्ति २५ सयदेखि तीन हजार रुपैयाँसम्म भाडा लिने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ। उक्त भाडा तोकिएकोभन्दा करिब तीन गुणा बढी हुन आउने महाशाखाको भनाइ छ। पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ।
त्यसैगरी गंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग छ हजार रुपैयाँका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रालिका कर्मचारी गणेश रावल र भागरिराम छिनाल पक्राउ परेका छन्। उनीहरुलाई थप कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ।
महाशाखाबाट परिचालित विशेष टोलीले सम्भावित त्यस्ता स्थानहरुमा निगरानी गर्ने, आफैं यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।