काठमाडाैं- एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखरा थण्डर्ससँग २-१ गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो।
पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठ र राफायल रिमगागोले एक/एक गोल गरे।
चितवनका शिशिर लेखिले एक गोल फर्काएपनि जितकाे लागि प्रयाप्त हुन सकेन।
खेलको ७२औं मिनेटम शिशिरले दर्शनीय गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए। यद्यपि, त्याे अग्रता चितवनले आत्मसाथ गर्न सकेन।
८२औं मिनेटमा गोलकिपर विशाल सुनार रातो कार्ड पाएपछि चितवन १० खेलाडीमा समेटियो।
डिबक्स बाहिर निस्केर हातले बल क्लियर गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड दिएका थिए।
त्यसकाे फाइदा उठाउँदै पाेखराका नवयुगले ८६ औं मिनेटमा फ्रिकिकमार्फत् खाेल बराबरीमा ल्याए।
त्यसपछि इन्जुरी समयमा राफायलले गोल गर्दै पोखरालाई २-१ को जित दिलाए।
चितवनका शिशिर खेलको इमर्जिङ खेलाडी घोषित भए। उनले १० हजार रुपैयाँ हात पारे। पोखरा थन्डर्सका रवि पासवान प्लेयर अफ दि म्याच घोषित भए। उनले २५ हजार रुपैयाँ हात पारे।
जितसँगै ८ अंक बटुलेको पोखरा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। समूहका सबै ६ खेल खेलिसकेको पोखराकाे प्लेअफमा पुग्ने सम्भावना छ। २ अंक जोडेर तालिकामा पुछारमा रहेको चितवन भने बाहिरिएको छ।
अन्तिम खेलअघि १० अंक जोडेको शीर्ष स्थानको धनगढी एफसी र १० अंक नै जोडेको दोस्रो स्थानको काठमाडौं रेजर्स भने प्लेअफमा पुगिसकेका छन्।
अब पोखरासँगै ७ अंक जोडेको विराटनगर सिटी एफसी, ६ अंक जोडेको ललितपुर सिटी र ५ अंक जोडेको बुटवल लुम्बिनी एफसीको प्लेअफमा पुग्ने सम्भावना छ। यी चार टिम मध्ये दुई टिम प्लेअफमा पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।