काठमाडाैं- बृहत् नागरिक आन्दोलनले महाव्याधिसँग जुध्न नयाँ नीति, विधि र प्रक्रिया आवश्यक रहेकाे बताएकाे छ।
काेराेनाकाे दोस्रो लहरले धेरैको मृत्यु हुनका साथै जनजीवनमा गम्भीर प्रभाव पार्नुमा राज्यसंयन्त्रलाई युद्धस्तरमा तम्तयार गर्न अक्षम राजनीतिक नेतृत्व पूर्णतः दोषी रहेकाे भन्दै नयाँ नीति, विधि र प्रक्रिया आवश्यक रहेकाे बताएकाे हाे।
'जनस्वास्थ्यविद्हरूले औंल्याउँदै आएअनुसार महाव्याधि रोकथामका लागि जनस्वास्थ्यका आधारभूत पूर्वाधार समुदायस्तरमै बलियो बनाउन सकिन्थ्यो। प्रमुख नाका र ठूला सहरमा क्वारेन्टिनको संख्या र स्तर बढाउन सकिन्थ्यो। महाव्याधि टरिसकेको गलत प्रचारबाजीले सरकारको गैरजिम्मेवारी मात्र प्रदर्शन गरेन, संक्रमण रोकथाममा राजनीतिक संकट नै निम्त्यायो,' विज्ञप्तिमा भनिएकाे छ।
राज्यका निकायहरू अझै पनि जिम्मेवार बनेनन् भने यो महाव्याधि सामना गर्न निरीह हुने विज्ञप्तिमा उल्लेख छ।
'आज राजनीतिक नेतृत्वको इच्छाशक्ति, तदारुकता र प्रभावकारी समन्वयको अभावमा दोस्रो स्वरुपको कोरोना भाइरस फैलिएको बेला प्रारम्भिक चरणमै हामी विकराल मोडमा छौँ,' विज्ञप्तिमा भनिएकाे छ,'राज्यका निकायहरू अझै पनि जिम्मेवार बनेनन् भने यो महाव्याधि सामना गर्नमा हामी निरीह हुन पुग्नेछौँ।'
यस्तै, जनताले तिरेको राज्यकोषमाथि मनपरी गर्ने, महाव्याधिलाई धन लुट्ने मौका बनाउने तथा जनस्वास्थ्यप्रति असंवेदनशील राज्यका पदाधिकारीहरूविरूद्व अनुसन्धान तथा कारबाहीका लागि पहल आवश्यक भएकाे विज्ञप्तिमा उल्लेख छ।
'सर्वोच्च जनप्रतिनिधि संस्थाले महाव्याधिले थिलथिलो भएका जनताको सार्वभौमिकताको अभ्यास गर्ने र उनीहरुको हितलाई केन्द्रमा राख्दै अकर्मण्य र अनियमित सरकारलाई तह लगाउने समय आएको छ। जवाफदेहिताको आधारसहित जनस्वास्थ्यको अधिकार प्रत्याभूत गर्ने/गराउनेबारे अविलम्ब आफ्नो कार्यभार बहन गर्न हामी सर्वोच्च जनप्रतिनिधि थलोलाई सम्झाउन चाहन्छौँ,' विज्ञप्तिमा भनिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।