काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि वैशाख २७ गते मतदान हुने भएको छ।
बैशाख १५ देखि अनिश्चितकालका लागि रोकिएको सदन शुरु गर्न दलहरु सहमत भएसँगै वैशाख २७ गते बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा अविश्वासको प्रस्तवलाई निर्णयार्थ पेस गरिने भएको हो।
सभामुख नेत्रनाथ अधिकारीले दलका नेताहरुसँग छलफल गरी प्रदेश सभाको बै७क बोलाएका छन्। अधिकारीले दलका नेताहरुसँगको छलफल पछि वैशाख २७ विहान ११ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका हुन्।
वैशाख २७ गते बस्ने प्रदेश सभा बैठकको शुरुमा राष्ट्रिय जनमोर्चाको संसदीय दलका नेता र जनता समाजवादी पार्टीका संसदीय नेताले बोल्ने छन्। त्यसपछि मुख्यमन्त्री गुरुङले जवाफ दिने कार्यसूची छ। कोरोना पोजेटिभ देखिएका गुरुङ उपस्थित हुन नसक्ने भएकाले उनले तोकेको एमालेका अर्का सांसदले जवाफ दिएर मतदान प्रक्रिया शुरु हुनेछ।
अविश्वास प्रस्ताव माथिको मतदान सोही दिन सकिने नेपाली कांग्रेसका सांसद विन्दुकुमार थापाले जानकारी दिए।
विपक्षी तीन दलले बैशाख २ मा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।