तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेका छन्। ट्याक्टरमा सवार बोटेको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ना६त ४२०७ नम्बरको ट्याक्टर भित्री सडकमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परी सोही वडा निवासी २२ वर्षीय किरण श्रेष्ठ र १८ वर्षीय सुन्दर श्रेष्ठ घाइते भएका छन्। किरणको दमौलीमा र सुन्दरको थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए।
मृत्यु हुने व्यक्ति ट्याक्टर चालक हुन् या सवार गर्ने व्यक्ति हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।