फाइल तस्वीर
काठमाडौं– माओवादी केन्द्रका नेता वर्षमान पुनले कोरोना रोकथामका लागि सरकार असफल भएपछि असफलता ढाकछोप गर्नका लागि विषयान्तर गर्न विश्वासको मत लिने लगायतका कार्य गरिरहेको टिप्पणी गरेका छन्।
स्वाब दिन संसद भवन नयाँ बानेश्वर पुगेका पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणको तयारी गर्नुपर्ने समयमा आफैं ठूला ठूला सभा र जुलुस गर्दै हिँडेको र अहिले सरकार असफल भएपछि विश्वासको मत लिने भन्दै जनता अलमलमा पार्ने काम गरेको टिप्पणी गरे।
‘कोरोनाविरुद्ध तयारी नगर्ने जुलुश गर्दै हिँड्ने अनि नागरिकको उपचार गर्ने समयमा हात उठाउने प्रधानमन्त्रीको यो कार्य पनि आफ्नो असफलता छोप्न गरिएको विषयान्तर हो ’ पुनले भने ‘भर्खर धरहरा उद्घाटनको जुलुस हेर्नुहोला, अरु कुनै मूर्ति उद्घाटनका जुलुस हेर्नु होला यस्ता गैर जिम्मेबारपूर्ण काम प्रधानमन्त्रीबाटै भएका छन्।’
प्रधानमन्त्री असंवैधानिक चलखेलमा उद्यत भएको उनको आरोप छ।
‘जसरी लुम्विनी प्रदेशमा असंवैधानिक चलखेल भयो त्यस्तै खालले केन्द्रमा पनि संविधान मिचेर खेल खेल्ने दाउँमा प्रधानमन्त्री रहेको देखिन्छ ’ पुनले भने ‘म नै ठूलो दल हो तर विश्वासको मत पाउदिन भने अरु कसैले पनि पाउँदैन र धारा ७६को ५ अनुसार कसैले पनि नपाउने दावीसहित विश्वासको मत पाएकै दिनमा विघटन गर्ने तयारी प्रधानमन्त्रीको देखिन्छ।’ फेरि अराजनीतिक, असंवैधानिक र अलोकतान्त्रिक ढंगले काम गर्न खोजेको देखिएको पुनको टिप्पणी थियो ।
गत वर्षपनि देशमा कोरोना संक्रमणको पहिलो लहर चलिरहँदा जनतालाई लकडाउनमा थुनेर पार्टी विभाजनको अध्यादेश ल्याउने काम गरेको भन्दै उनले भने ‘प्रधानमन्त्री त्यही व्यक्ति हो जसले विघटन पनि गर्नु भयो अनि सर्वोच्चले बदर गरेपछि आफै निरन्तर हुनुहुन्छ।’
'प्रधानमन्त्री ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरेर पुस ५ मा पनि संसद विघटन गर्नु भयो , फागुन २३ गते नेकपा एमाले र माओवादी हुदाँ विश्वासको मत लिनुस भन्दा नलिने तर अहिले वढो लोकतान्त्रिक भएर विश्वासको मत लिन अघि सर्नु भएको छ ’ पुनले भने ‘ यसमा एकदम प्रष्ट नियत देखिन्छ देशलाई अस्थिरतामा लैजान चाहेको देखिन्छ ।’
‘अहिले कोरोनाको महामारी चलिरहेकाले रोकथामतिर दलहरुका बीचमा सहकार्य गर्न आह्वान गर्नुपर्ने र आफ्नो पार्टीभित्र पनि मिलाउन अभिभावकको भूमिका देखाउनु पर्ने हो ’ उनले भने ‘ देशको अभिभावकले सबैलाई सहकार्य गर्न र सर्वपक्षिय संयन्त्र बनाएर जाने होइन र ।’ २०७२ सालको भूकम्पपछि सवै दलहरु मिलेर नै अघि वढेको सम्झदै उनले प्रधानमन्त्रीले सवैलाई मिलाएर लैजानुपर्नेमा त्यो भूमिका निर्वाह गर्न नसकेको उनको आरोप थियो।
‘अहिलेको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्न’ पुनले भने ‘ विश्वासको मत भन्दा पनि प्रधानमन्त्री अन्य कुनै असंवैधानिक बाटोतिर जाने खोजेको देखिन्छ।’
फागुन २३ पछि किन समर्थन फिर्ता नलिएको भनि सोधिएको प्रश्नमा उनले प्रधानमन्त्री झन अस्थिरतामा जाने र असंवैधानिक कदमतिर जाने देखेकाले फिर्ता नलिएको दाबी गरे।
विश्वासको मतका लागि प्रधानमन्त्रीले आफ्नै दल मिलाउन नसकेको उनले बताए। एमालेकै सांसदहरुले नै राजीनामा दिने भनेको भन्दै पुनले यो अवस्थामा झन संवैधानिक भ्याकुम हुने भएकाले प्रतिपक्ष दलहरुले विकल्प दिनै पर्ने उनको भनाइ छ।
अहिलेको मुख्य प्राथमिकता भनेको कोरोना रोकथाम र नियन्त्रणका साथै नागरिकको उपचारको ज्यान बचाउने भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।