काठमाडौं– नेकपा (एमाले) स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए।
बैठकले बाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको उप निर्वाचन तथा लुम्बिनीमा हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछ। बाग्मती प्रदेशमा जेठ ६ गते उप निर्वाचन हुँदै छ।
यसअघि बैशाख १० गते सम्पन्न केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उप निर्वाचनमा एमालेका तर्फबाट रामबहादुर थापा बादल नै उम्मेदवार हुने बताएका थिए।
बालुवाटार जारी बैठकले उम्मेद्वारको विषयमा औपचारिक निर्णय गर्ने सम्भावना छ।
लुम्बिनी प्रदेशमा हुने उप निर्वाचनको पनि मिति तोकिएकोले त्यहाँको उम्मेदवारको पनि आजको बैठकले नै टुंगो लगाउने बुझिएको छ।
यसका साथै पछिल्लो राजनीति घटनाक्रम र कोभिड १९ को रोकथाम र नियन्त्रणका विषयमा चाल्नुपर्ने थप प्रभावकारी कदमका बारेमा पनि बैठकमा छलफल जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।