काठमाडौं- नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)को ठूलो हिस्सा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ गठबन्धन सरकार बनाउन सकिने निष्कर्षमा पुगेको छ।
बुधबार बिहान भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको छलफलले यस्तो निष्कर्ष निकालेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरेपछि त्यसअघि नै ओलीलाई हटाएर नयाँ गठबन्धन सरकार निर्माण गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष सक्रिय भएका छन्।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने कांग्रेसले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्ताव असफल पार्ने निर्णय गरिसकेको छ। एमालेभित्रकै माधवकुमार नेपाल पक्ष पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउन ‘निर्णायक कदम चाल्ने’ तयारीमा देखिएको छ।
त्यही क्रममा बुधबार बिहान प्रचण्ड, नेपाल र यादवबीच हात्तीवनमा छलफल भएको थियो। ‘छलफलमा ओलीले लिन लागेको विश्वासको मत कसरी असफल पार्ने, त्यसका लागि कसले के के गर्ने भन्नेबारे गम्भीर छलफल भयो’, स्रोतले भन्यो, ‘ओलीको प्रस्तावलाई असफल पार्न र नयाँ सरकार निर्माण गर्न सकिन्छ भन्ने छलफलको निचोड हो।’
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि पहल गर्ने निर्णय गरिसकेकाले अब कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार निर्माण गर्नेगरी छलफल अगाडि बढेको नेताहरुले बताएका छन्। त्यसका लागि चाँडै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने उनीहरुको तयारी छ।
‘प्रधानमन्त्रीविरुद्ध चाँडै अविश्वास प्रस्ताव दर्ता गर्याैं भने विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई नैतिक दबाब पर्छ’, जसपाका एक नेताले भने, ‘नयाँ सरकारको दाबी प्रस्तुत गर्न सकियो भने विश्वासको मत नपाए पनि प्रधानमन्त्री ओली नै संविधानको धारा ७६ को उपधारा ३ (ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान) बमोजिम प्रधानमन्त्री बन्ने अवस्थालाई रोक्न सकिन्छ।’
अहिले कांग्रेस र माओवादीका मात्र प्रतिनिधि सभामा १०९ सदस्य छन्। जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले नयाँ सरकार गठनका लागि १८ जना सांसदको हस्ताक्षर नै गरिसकेकाले त्योसमेत जोड्दा १२७ हुन्छ। अहिले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न १३६ सांसद आवश्यक पर्छ। अहिले नै नयाँ गठबन्धनका लागि ९ जना सांसद अपुग छन्। तर, एमालेको माधवकुमार नेपाल पक्षले नयाँ सरकार गठनका लागि सहयोग गर्ने ‘आश्वासन’ दिएको छ।
एमालेका नेपालपक्षीय सांसदहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएमा ‘फ्लोर क्रस’ गर्न वा सरकार गठनका लागि आवश्यक सांसद संख्यामा सजिलो पार्न राजीनामा दिनेसम्मका विकल्पमा छलफल गरिरहेका छन्।
‘अब नयाँ सरकार बन्ने सम्भावना देखिएको छ’, नेपालनिकट एक एमाले नेताले भने, ‘आज बिहान तीनजना नेताबीचको छलफलमा पनि यही कुरा भएको छ र यसबारे आवश्यक पहल गर्ने निधो भएको छ।’
यो पनि पढ्नुहोस्
प्रचण्ड–माधवसँग उपेन्द्रले भने- ‘अगाडि बढ्नुस्, २५ सांसद हाम्रो जिम्मा’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।