काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नयाँ गठबन्धन सरकार निर्माणका लागि आफ्नो पार्टीबाट २५ जनासम्म सांसद तयार पार्ने बताएका छन्।
बुधबार बिहान हात्तीवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफलमा यादवले यस्तो आश्वासन दिएका हुन्। प्रचण्ड र नेपाल हात्तीवन पुगेपछि तीन नेताबीच छलफल भएको थियो।
‘छलफल मुख्यतः २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिने भनेको विश्वासको मतलाई कसरी असफल पार्ने भन्नेमा केन्द्रित थियो’, स्रोतले नेपाल लाइभसँग भन्यो, ‘त्योसँगै नयाँ सरकार गठनका लागि के-के गर्न सकिन्छ भन्नेबारे छलफल भयो। उपेन्द्रजीले हामी अधिकतम सांसद ल्याउन सक्छौं, जसपाबाट २५ जनासम्म सांसद नयाँ सरकार बनाउन तयार पार्छौं भन्ने आश्वासन दिनुभएको छ।’
नयाँ गठबन्धन निर्माणका लागि आ-आफ्नो पार्टीभित्र सघन छलफल गर्ने र २७ गतेका लागि आवश्यक संयुक्त निर्णय लिन तयार हुनेबारे समेत बैठकमा छलफल भएको स्रोतले बतायो।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय गरेपछि राष्ट्रपतिले सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधि सभाको विशेष अधिवेशन डाकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।