काठमाडौं- राष्ट्रिय सभाको आसन्न उपनिर्वाचनमा विपक्षी पार्टीहरू कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले खिमलाल देवकोटालाई साझा उम्मेदवारको रूपमा अघि सार्ने भएका छन्। त्यसका लागि शीर्ष नेताहरुबीच सहमति भइसकेको माओवादी केन्द्रका एक नेताले बताए।
एमालेभित्रको माधवकुमार नेपाल पक्षसँग नजिक रहेका देवकोटालाई उक्त पक्षको पनि साझा उम्मेदवारको रूपमा हेरिएको छ। उनले चुनाव भने माओवादी केन्द्रको चिन्हमा लड्ने ती नेताले बताए।
माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका रामबहादुर थापा 'बादल' एमाले प्रवेश गरेसँगै माओवादी केन्द्रले उनलाई राष्ट्रिय सभा सदस्यबाट हटाएको थियो। बादल निर्वाचित बागमती प्रदेशमा रिक्त स्थानमा जेठ ६ गते उपनिर्वाचन हुँदैछ।
प्रदेश ३ को योजना आयोगको उपाध्यक्ष समेत रहिसकेका उनले २०७६ असारमा व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए। उनी संघीयता विज्ञका रूपमा परिचित छन्।
पदमुक्त भएका बादलको स्थानमा एमालेका तर्फबाट बादललाई नै उठाउने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले यसअघि नै घोषणा गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।