काठमाडौं- बाजुरामा दुई बालिकामाथि पेट्रोल छर्किएर आगो लगाइएको छ। आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाजुराको त्रिवेणी नगरपालिका–८ का १६ वर्षीय सुमन गिरी र सोही ठाउँका १६ वर्षीय किशोर शिखर थापा छन्। उनीहरुले १४ र १६ वर्षीया दुई बालिकालाई पेट्रोल छर्केर आगो लगाएका थिए।
घटना गत सोमबारको हो। राति १ बजे त्रिवेणी-९ मालागाउँमा विवाहको कार्यक्रममा नाचगान र देउडा भइरहेको थियो। देउडा हेरेर बसेका दुई बालिकामाथि हाल पक्राउ परेका गिरीले मिनिटरल वाटरको १ बोतल पेट्रोल छर्किएका थिए। गिरीले पेट्रोल छर्किएपछि थापाले आगो लगाएको प्रहरीले जनाएको छ। आगो लगाएर उनीहरु फरार भएका थिए।
बालिकाको शरीरमा लागेको आगो भने विवाहमा जम्मा भएका स्थानीयले निभाएका थिए। आगोबाट घाइते भएका दुवै बालिकालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको थियो। उनीहरुको ढाड र कम्मर जलेको थियो। स्वास्थ्य अवस्था सामान्य रहेको भनेर अस्पतालले जनाएपछि उनीहरुलाई अभिभावकको जिम्मा लगाइएको थियो।
आगो लगाएर दुई जना फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी आएपछि खोजतसाल शुरु गरेको प्रहरीले उनीहरुलाई त्रिवेणी–८ बुढीगंगा नदीको किनारबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई तेजाब प्रयोग गरी अंगभंग गर्न नहुने कसूरमा ५ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको बाजुरा प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।