काठमाडाैं- इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेकाे छ।
बुधबार घरेलु मैदान इतिहाद स्टेडियममा भएकाे सेमिफाइनलको दोस्रो लेगमा साविककाे उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई २-० गाेलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेकाे हाे।
सिटीले पहिलाे लेगमा पीएसजीलाई उसैकाे मैदानमा २-१ गाेल अन्तरले पराजित गर्दै आफ्नो दबाब कायम राखेको थियो।
दोस्रो लेगमा पनि पीएसजीविरूद्व पुन: उत्कृष्ट खेल देखाउन सक्षम रह्यो सिटी। उसका लागि खेलको नायकी भूमिका भने रियाद महारेजले निर्वाह गरे। उनले व्यक्तिगत दुई गोल गर्दा सिटी उपाधि नजिक पुगेकाे हाे।
खेलकाे ११औं मिनेटमा केभिन डी ब्रोएनले प्रहार गरेकाे रिफलेक्ट बललाई नियन्त्रणमा लिँदै महारेजले गाेल गरेका थिए। उनकै गाेलमार्फत् सिटीले पहिलाे हाफमा १-० काे अग्रता बनाएकाे थियाे।
सिटीले दाेस्राे हाफमा एक गाेल थप्याे। उसका लागि पुन: महारेज भाग्यमानी सावित ठहरिए।
६३औं मिनेटमा फिल फोडेनकाे पासमा महारेजले पीएसजीका गोलरक्षक केलर नाभासलाई कुनै माैका नदिइ बललाई जाली चुमाए।
दुई गाेलले पछि परेपछि खेल घम्साघम्सीमा परिणत भएकाे थियाे। ६८औं मिनेटमा पीएसजीका फरवार्ड एन्जल डि मारिया सिधै राताे कार्ड खाँदै मैदान छाडे।
उनले सिटीका कप्तान फर्नान्डिन्होलाई ठेलेर लडाएका थिए। त्यसपछि फर्नान्डिन्होकाे खुट्टामा टेकेपछि डि मारियालाई रेफ्रीले सिधै मैदान बाहिरकाे बाटाे देखाए।
१० खेलाडीमा सीमित पीएसजी त्यसपछि भने खेलमा फर्किन सकेन र सिटीलाई सग्रमा ४-१ ले लिग सुम्पियाे।
अब उपाधिकाे लागि सिटीले स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब चेल्सीबीचकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई क्लबले सेमिफाइनलकाे पहिलाे लेगमा १-१ गाेलकाे बराबरी खेलेका थिए। मड्रिड र चेल्सीबीचकाे दाेस्राे लेग बुधबार राति १२ : ४५ मा हुनेछ।
अनुशासनहीन खेल
सिटी र पीएसजी युराेपका दुई ठूला टाेली हुन्। यी दुई क्लबमा चर्चित खेलाडीहरु खेल्दै आएका छन्। तर, बुधबार भएकाे खेलमा दुबै क्लबका खेलाडीले संयमता नअपनाउँदा रेफ्रीले ५ पहेँलाे कार्ड र एक राताे कार्ड देखाएका थिए।
सिटीका डिफेन्डर ओलेक्सान्डर जिनचेन्को र फरवार्ड केभिन डि ब्रुयनले पहेंलाे कार्ड पाए।
यता, निकै नै आक्रमक देखिएकाे पीएसजीका तीन खेलाडीले पहेंलाे कार्ड पाएका थिए।
पीएसजीका डिफेन्डर प्रेसनेल किमपेम्वे, मिडफिल्डरद्वय एन्जल हेरेरा र मार्काे भेराट्टीले पनि पहेंलाे कार्ड पाए। यस्तै, फरवार्ड एन्जल डि मारियाले पनि खेलमा अनुशासन कायम गर्न सकेनन्। उनलाई सिधै राताे कार्ड देखाइएकाे थियाे।
सिटीलाई एकै वर्ष तेहरो उपाधिको माैका
याे सिजन सबै फर्म्याटमा राम्रो डिफेन्सिभ खेल प्रस्तुत गरेकाे सिटीलाई एकै वर्ष तेहरो उपाधिको माैका मिलेकाे छ।
पेप ग्वार्डिओलाकाे नेतृत्व रहेकाे सिटी प्रिमियर लिग फुटबलको उपाधिको नजिक रहेको छ। सिटीले कारबाओ कपको उपाधि उचालिसकेको छ।
पछिल्लो तीन सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा सिटी पराजित हुँदै आएको थियो। सन् २०१६ उनी सिटीको प्रशिक्षक बनेपछि टाेली पहिलाेपटक सेमिफाइनलमा पुगेकाे थियाे। त्यसपछि उनले टाेलीलाई फाइनलसम्म पुर्याउन सकेका छैनन्।
तर, स्पेनिस क्लब बार्सिलोनाको प्रशिक्षक छँदा दुईपटक च्याम्पियन्स लिगकाे उपाधि जिताइसकेका ग्वार्डिओलालाई याेपल्ट पुन: आफ्नाे प्रतिष्ठा जाेगाउने माैका मिलेकाे छ।
च्याम्पियन्स लिगको उपाधि हात पारेमा ग्वार्डिओलाले सिटीकाे इतिहासमा एकै वर्ष तेहरो उपाधि दिन सक्नेछ प्रशिक्षककाे रेकर्ड बनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।