काठमाडाैं- युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा आज (मंगलबार) राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बीच खेल हुँदैछ। सिटीकाे घरेलु मैदान इतिहाद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ।
घरेलु मैदानमा सिटी पीएसजीलाई हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ। पहिलाे लिगमा बलियाे देखिएकाे सिटीले २-१ काे नतिजा निकालेकाे थियाे। त्यसैले सिटीलाई फाइनल पुग्न आजकाे खेलमा बराबरी खेले मात्रै पनि पर्याप्त हुनेछ।
यता, साविक उपविजेता पीएसजीलाई भने याे लिगमा नतिजा उल्टाउन पर्ने हुन्छ। तर, सिटीविरुद्ध खेल्न पीएसजीलाई त्यति सजिलाे भने हुनेछैन। सिटीका सर्जियो अगुइरो, गाब्रियल जेसस, रहिम स्टर्लिङ, फर्नान्डिन्हो, नाथन एके, एमेरिक लापोर्टा र बेन्जामिन मेन्डी उच्च फर्ममा रहेका छन्।
यस्तै, केभिन डि ब्रुयन, रियाद महारेज, फिल फोडेन, रोड्री, इल्केए गुन्डोगान, बर्नार्डाे सिल्भा, रुवेन डियास, जोन स्टोन्स, केल वाल्कर, जोओ क्यान्सिलो र गोलरक्षक इडर्सन मोराएसले पनि जारी लिगमा राम्राे दर्शन गरिरहेका छन्।
यता, पीएसजी पनि घरेलु टोलीलाई पराजित गर्दै लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको फाइनलमा पुग्ने दाउमा हुनेछ। घरेलु मैदानमा हार चाखेकाे पीएसजी दाेस्राे लिगमा नतिजा उल्ट्याउने लक्ष्यसहित मैदान उत्रिने छ।
फरवार्ड नेयमार एन्जल डि मारिया, मार्काे भेराट्टी, ड्यानियल पारेडेस, कप्तान मार्किन्हस, प्रेसनेल किमपेम्वे, एब्डोउ डियालो, एलेसान्द्रो फ्लोरेन्जी र गोलरक्षक केलर नाभास लयमा देखिएका छन्।
यस्तै पाब्लो साराविया, मोउरो इकार्डी, जुलियन ड्राक्सलर, ड्यानिलो पेरेइरा, थिलो केरहर, एन्जल हेरेरा, राफिन्हा र मोइस किनले यस सिजन राम्राे खेल देखाउँदै आएका छन्। फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे खेल्ने नखेल्ने टुंगाे लागिसकेकाे छैन। उनी चाेटकाे कारण मैदान बाहिर रहेका छन्। यता, इड्रिसा गाना गेये टोलीमा हुनेछैनन्। उनी प्रतिबन्धमा रहेका छन्।
यी दुई टोलीबीच तीनपटक भेट भएकाे छ। जसमा सिटी दुई खेलमा विजयी भएको छ। पीएसजीले भने जित हात पार्न सकेको छैन। पछिल्लो दुई खेलमा सिटीले २–१ र १–० को जित निकाल्दा अर्काे खेल २–२ गोलको बराबरीमा सकिएको छ।
ग्वार्डिओलाकाे अग्निपरीक्षा
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकाे लागि याे खेल अग्निपरीक्षा हाे। उनले स्पेनिस क्लब बार्सिलोनाको प्रशिक्षक छँदा दुईपटक च्याम्पियन्स लिगकाे उपाधि जिताएका थिए। तर, सन् २०१६ सिटीको प्रशिक्षक बनेपछि उनले याे उपाधि जिताउन के टाेलीलाई फाइनलसम्म पनि पुर्याउन सकेका छैनन्।
तर, उनी प्रिमियर लिगमा भने सफल छन्। उनले यस अवधिमा दुईपटक प्रिमियर लिगको उपाधि जिताइसकेका छन्। त्यसैले याे खेललाई उनकाे प्रतिष्ठासँग जाेडेर हेर्न थालिएकाे छ। त्यसैले उनले आफ्नाे खेलाडीलाई आक्रमक बनाएर मैदान उत्रार्ने बताएका छन्।
'हामी बढी सन्तुलन कायम गर्न कोशिस गर्दैछौं। हामी खेलको केही क्षणमा कष्ट भोग्न तयार हुनु आवश्यक छ। हामी क्लिनिकल र आक्रामक हुनु आवश्यक छ,' उनले भनेका छन्।
उनले खेलाडी संयम भएर खेले उपाधिकाे लक्ष्यसम्म पुग्न सकिने बताए।
'हामी एक राम्रो क्षणमा आइपुगेका छौं र मैले केटाहरूलाई भनेँ- खेल कसरी जित्ने भनेर धेरै नसाेच्नू। हामी सानो माैकाका साथ शुरु गर्दछौं तर हामीले खेल जित्नका लागि खेल्नुपर्दछ। यो हामीले गर्न लागेका सबै भन्दा ठूलाे कुरा हो,' उनले भने।
एमबाप्पेमा निर्भर पीएसजी
पीएसजी घाइते भएका एमबाप्पेमा पूरा निर्भर देखिएकाे छ। यद्यपि, उनी खेल्ने/नखेल्ने अझै निश्चित भइनसकेकाे प्रशिक्षक माउरिसियो पोचेटिनो बताउँछन्।
'एमबाप्पेकाे एक व्यक्तिगत प्रशिक्षण सत्र शुरु गर्नेछाैं। त्यसपछि उनी टाेलीमा रहने/नरहने निर्धारण हुन्छ,' उनले भने।
तर, एम्बाप्पेलाई लिएर आफू आशावादी रहेकाे बताए। ‘एमबाप्पेको उपस्थितिलाई लिएर आशावादी छु। अपेक्षा गरौं उनी हामीसँग हुनेछन्’, उनले भने।
चोटका कारण एम्बाप्पेले अघिल्लो साता लिग वानमा लेन्सविरुद्धको खेल गुमाएका थिए। उनको पिँडौलामा समस्या रहेका बताइन्छ। एमबाप्पे पछिल्लाे समय लयमा देखिएका छन्। उनले ४५ युरोपियन खेलमा २७ गोल गर्नुका साथै १७ एसिस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।