सुर्खेत– शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही–११ सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग(केपिएल)को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणका चार वटै खेल जितेर रुपन्देही समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल पुगेको हो।
समूह चरणको अन्तिम खेलमा बुधबार रुपन्देही ११ ले महाकाली क्रिकेट क्लबलाई एक सय ४ रनको फराकिलो अन्तरले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ९ रन जोड्यो। उसका लागि निश्चल चौधरीले सर्वाधिक ८५ रन बनाए। ५१ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे।
यस्तै, कप्तान शक्ति गौचनले २४ बलमा ४ चौका र २ छक्काको मद्दतमा अविजित ४२ रन बनाए। बलिङतर्फ महाकालीका हेमन्त धामी र आकाश चन्दले समान २/२ विकेट हात पारे।
२ सय १० रनको विशाल लक्ष्य पछ्याउने क्रममा महाकालीले २० ओभरमा ७ विकेट गुमाएर एक सय ५ रन मात्रै बनाउन सक्यो। उसका लागि कप्तान रोबिन क्षेत्रीले २८ तथा पारस केसीले २६ रन बनाए। रुपन्देहीका बलर कृष्ण कार्कीले ३ विकेट तथा शक्ति गौचन, सन्दीप सुनार र विक्रम भुसालले समान १/१ विकेट लिए। खेलको प्लेयर अफ द म्याच निश्चल चौधरी घोषित भए।
बुधबारै भएको अर्कोे खेलमा एबिसी स्पोर्ट्स क्लबले रोयल राइजिङ क्लबलाई ६ रनले पराजित गरेको छ। प्रतियोगितामा तीन वटा खेल खेलेको उसको यो पहिलो जित हो।
टस जितेर ब्याटिङ गरेको एबिसी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो। उसका आगि दिनेश पुनले ३३ तथा मिलन क्षेत्रीले ३१ रन बनाए। रोयल राइजिङका बलर सन्दिप शाहीले ३ विकेट लिए।
एक सय ४० रनको लक्ष्य पछ्याउने क्रममा रोयल राइजिङले २० ओभरमा ८ विकेट गुमाएर एक सय ३३ रन मात्रै बनाउन सक्यो। रोयलका लागि सुमन गुरुङले ३८ रन तथा आशिष सिंहले २२ रन बनाए। एबिसीका बलर दिनेश अधिकारीले सर्वाधिक ४ विकेट तथा अनिल खरेलले २ विकेट लिए। खेलको प्लेयर अफ द म्याच दिनेश अधिकारी चुनिए।
लगातार चार खेलमा पराजय बेहोरेको रोयल राइजिङ प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।