काठमाडाैं- स्पेनिस फरवार्ड पेड्रो मान्जी र सन्तोष तामाङको गोलमा विराटनगर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा अंक तालिकाकाे पुछारमा रहेको एफसी चितवनलाई २-० हराउँदै विराटनगर शीर्ष स्थानमा उक्लिएको हो।
तर, विराटनगरले दुबै गाेल भने दाेस्राेहाफमा गरेकाे हाे। ७३औं मिनेटमा मान्जीले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए। सुनिल बलको फ्रिकिकमा उनले गोल गरेका थिए।
८९औं मिनेटमा सन्तोष तामाङले पेनाल्टी बक्सबाहिरबाट गोल गर्दै विराटनगरलाई २-० को जित दिलाए।
जितसँगै विराटनगर ४ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। समान ७ अंक रहेपनि विराटनगरले धनगढीलाई गाेल संख्याकाे आधारमा पछि पारेको हो। पराजित चितवन ४ खेलबाट २ अंक जोडेर पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।