काठमाडौं- सुन तस्करको गिरोहले नेपाली युवाहरूलाई भिजिट भिसामा नेपालबाट संयुक्त अरब ईमिरेट्सको दुबई पठाएर त्यहाँबाट फर्किँदा सुन बोकाएर पठाउने गरेको खुलेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार साढे १ किलो सुनसहित पाँच जना पक्राउ परेपछि तस्करको गिरोहले युवाहरूलाई भिजिट भिसामा दुबई पठाएर फर्किँदा सुन बोकाएर पठाउने गरेको खुलेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार पक्राउ पर्नेहरूमा प्युठानका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन्।
एअर अरेबियामार्फत् आएका जनक र यामलाल सुनसहित पक्राउ परेका थिए। त्यसको दुई घण्टापछि हिमालयन एयरलाइन्सको उडानमार्फत् आएका धनबहादुर र सुमित तथा नेपाल एयरलाइन्सको उडानमार्फत् काठमाडौं आएका राजुलाई अवैध सुनसहित पक्राउ गरिएको गौतमले नेपाल लाइभलाई जानकारी दिए।
स्पिकरभित्र चुम्बक हुने ठाउँको क्वाइलमा राखेर उनीहरूले सुन ल्याएको पाइएको छ। राजु २ वर्ष दुबई बसेर फर्केका हुन्। बाँकी ४ जनालाई भने दलालले भिजिट भिसामा सुन तस्करीकै लागि दुबई पठाएको खुलेको छ। दुबई गएको एक/डेढ महिनाको अवधिमै उनीहरू सुन लिएर नेपाल फर्केका हुन्।
भिजिट भिसामा दुबई पुगेपछि काम नदिएर अलपत्र पार्ने र उद्दार गरे जसरी सुन तस्कर गिरोहले सुन बोकाएर पठाउने गरेको गौतमले बताए।
काम नपाएर दुबईमा अलपत्र परेपछि सुन तस्करले उद्धार गरेजस्तो गरेर 'टिकट काटिदिन्छु, मेरो एक वटा कपडाको लगेज छ नेपाल लगिदिनुपर्छ' भनेर प्रलोभन देखाउने गरेको गौतमको भनाइ छ।
काम नपाएर अलपत्र परेकाहरू दलालको उद्धार भएको बुझेर दलालको प्रलोभनमा पर्ने गरेको खुलेको छ। दलालहरूले उद्धार गरेपछि कपडा भनेर एअरपोर्टमा लगेज दिने र उनीहरूले थाहै नपाइ गिरोहले लगेजमा सुन राख्ने गरेको पाइएको छ।
तस्करले दिएको लगेज बोकेर आएका उनीहरू सुनसहित पक्राउ परेका हुन्। उक्त सुन रिसिभ गर्न विमानस्थल पुगेका अर्का व्यक्ति भने फरार भएका छन्। यो तस्करको समूहले यसअघि पनि दुबईमा ७ महिना जेल बसेर छुटेका मान्छेलाई फ्यान र स्पिकरमा सुन बोकाएर पठाएको थियो।
दु:ख पाएका, जेल बसेर छुटेका, टिकट काट्न नसकेका व्यक्तिलाई उद्धार गरेजस्तो गरेर नेपाल पठाउने र लगेजमा उनीहरूले थाहै नपाउने गरी सुन राखिदिने गरेको गौतमको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।