काठमाडौं– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनःनियुक्ति पाएका शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
विपक्षी गवबन्धनले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेकै अवस्थामा प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई आइतबार राति ८ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
यसअघि संविधानको धारा १६८ को उपधारा (२) अनुसार गठवन्धन सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री पोखरेलले आइतबार बिहानै राजीनामा दिएर संविधानको धारा १६८ को उपधारा (१) अनुसार नेकपा एमालेको एकल बहुमतको सरकार गठनको दाबी पेस गरेका थिए।
पोखरेलले पुनः मुख्यमन्त्रीमा दाबी गरेपछि विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी लगायत पार्टीका तर्फबाट कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए।
तर, प्रदेश प्रमुख यादवले भने पोखरेललाई नै बहुमत प्राप्त दलको नेताका रुपमा संविधानको धारा १६८ को (१) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
पोखरेललाई मुख्यमन्त्रीमा पुनःनियुक्त गरिएपछि कांग्रेस र माओवादी केन्द्रसहित पार्टीका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिन पुगेका थिए।
विपक्षी दलका सांसद्हरुले धर्ना दिइरहे पनि कडा सुरक्षा प्रबन्धका बीच पोखरेललाई मुख्यमन्त्रीको शपथ ग्रहण गराइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।