काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुन:नियुक्तिलाई घोर अलोकतान्त्रिक प्रवृत्ति भएकाे बताएका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै देउवाले याे कदम सविधानको ठाडो उल्लंघन र बलमिच्याई भएकाे टिप्पणी गरेका हुन्।
‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ। संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु,’ उनले भनेका छन्।
लुम्बिनी प्रदेशमा नेकपाबाट निर्वाचित सांसद विमला खत्रीले आइतबार नै आफ्नो संलग्नता नेकपा माओवादी केन्द्रमा रहेको बताएकी छन्। त्यस्तै आइतबार नै एमालेका एक सांसदले सांसद पदबाट राजीनामा दिएका छन् भने सूर्य चिह्नबाट चुनाव जितेका दुई सांसदले पोखरेलको साथ छाडेर विपक्षी गठबन्धनमा हस्ताक्षर गरेका छन्।
'नेकपाबाट निर्वाचित एक सांसदले माओवादी सलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सासदले सांसद पदबाट नै राजीनामा गरेका छन्,' उनले भनेका छन्,' कांग्रेस, नेकपा माओवादी, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मुल्य मान्यता विपरीतको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक छ।'
संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन भएकाे समेत उनले बताएका छन्।
उनले केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तु भएको भन्दै बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।