काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हालैको सार्वजनिक अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरेका छन्।
पार्टीभित्र सहमति निर्माणका लागि निरन्तर आन्तरिक छलफल भइरहेको अवस्थामा खड्काले संवाद नै नभएको आशय व्यक्त गरेपछि आफू अचम्मित भएको शर्माको भनाइ छ।
पूर्व कार्यवाहक सभापति खड्काले आइतबार सामाजिक सञ्जालमार्फत सभापति गगन थापासँग पछिल्लो ३१ दिनदेखि औपचारिक संवाद नभएको उल्लेख गरेका थिए। तर पार्टीभित्रका केही नेताहरूका अनुसार सहमति निर्माणका लागि निरन्तर छलफल भइरहेको दाबी गरिएको छ।
कार्यसम्पादन समितिका एक सदस्यका अनुसार सभापति थापाले सहमतिका लागि सात बुँदे प्रस्ताव खड्कासमक्ष पठाइसकेका छन्। ती प्रस्तावबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया नआएको पनि उनले बताए।
यसबीच, उपसभापति शर्माले जेठ २२ गते खड्काको निवासमै पुगेर करिब तीन घण्टा लामो छलफल गरेका थिए। सो छलफलमा पनि सात बुँदे प्रस्तावलाई आधार बनाएर सहमति खोज्ने प्रयास गरिएको बताइएको छ।
यस्तै, आइतबार (जेठ २४) सभापति थापा र उपसभापति शर्माबीच अर्को पक्षसँग सहमति निर्माणका सम्भावनाबारे थप छलफल भएको जनाइएको छ।
यद्यपि, सहमतिको प्रक्रियामा रहेका बुँदाबारे उपसभापति शर्माले विस्तृत विवरण सार्वजनिक गर्न चाहेका छैनन्। उनले सहमति निर्माणका लागि संवाद निरन्तर आवश्यक रहेको मात्र संकेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।