काठमाडाैं- सरकारले संसद्को बर्खे (बजेट) अधिवेशन २७ वैशाखमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २७ वैशाखमा संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले बताइन्।
प्रतिनिधि सभा पुन:स्थापनापछि चलेको हिउँदे अधिवेशन कामै नगरी अन्त्य भएको थियो। फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि २३ फागुनमा हिउँदे अधिवेशन शुरू भएको थियो।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए।
उक्त निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको निवेदनमा फैसला सुनाउँदै ओलीको कदम असंवैधानिक भएको भन्दै पुन:स्थापना गरिदिएको थियो।
हिउँदे अधिवेशन राम्रोसँग चल्न नसकेपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो। संविधानमा जेठ १५ गते आर्थिक वर्षको बजेट ल्याउनुपर्ने व्यवस्था छ। संविधानको उक्त व्यवस्था अनुसार बजेट ल्याउनका लागि सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम पेश गर्ने गर्दछ।
संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्नेछिन्। उक्त नीति तथा कार्यक्रमपछि सरकारले प्रि-बजेट छलफल शुरु गर्नेछ। प्रि-बजेट छलफलपछि सरकारले आउँदो आर्थिक वर्षका लागि बजेट पेश गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।