काठमाडौं- लुम्बिनी प्रदेश सभाका एमालेका एक जना सांसदले राजीनामा दिएका छन्। दुई जनाले मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन नरहेको बताएका छन्।
लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि एमालेका कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेयले राजीनामा दिएका हुन्।
यस्तै, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले मुख्यमन्त्रीका पोखरेललाई समर्थन नगर्ने बताएका छन्। उनीहरू सूर्य चिन्ह लिएर निर्वाचित सांसद हुन्। उनीहरूले माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने बताएका छन्।
राजीनामा दिनेमध्येका एक पाण्डेयले ‘हालको राजनीतिक परिस्थिति नियाल्दै आजकै मतिदेखि लागू हुनेगरी’ राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।
‘मैले जनतामा गरेको प्रतिवद्धता अनुसार काम गर्न सकिनँ। मैले राखेका कुरा सरकारले सम्बोधन गर्न सकेन। त्यसकारण यो पदमा रहिरहन उचित ठानिनँ’, पाण्डेयले नेपाल लाइभसँग भने, ‘पार्टीभित्रको गुटबन्दी पनि एउटा कारण हो। तर, म कुनै पक्षमा लागेको होइन। तर, गुटबन्दीका कारण गाह्रो भयो। त्यसकारण राजीनामा दिएको हुँ।’
आइतबार नै नेकपाबाट निर्वाचित एमाले सांसल विमलाकुमारी केसीले माओवादी केन्द्रमा प्रवेश गरिसकेकी छन्। तर, एमाले प्रदेश संसदीय दलका नेता शंकर पोरखेल पुन: मुख्यमन्त्री नियुक्त भएका छन्। उनले बहुमत प्राप्त दलकाे नेताका रुपमा मुख्यमन्त्री बनेका हुन्।
केसीसहित एमालेका ४१ सांसद थिए। तर, अब पोरखेलसँग ३७ सांसद मात्र भएका छन्। ८७ सदस्यीय प्रदेश सभामा अहिले ६ पद रिक्त छ। माओवादी, कांग्रेससहित सांसदहरूले समेत कुलप्रसाद केसीको पक्षमा बहुमत भएको भन्दै आइतबार प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।