काठमाडौं– लुम्बिनी प्रदेशको राजनीतिक घटनाक्रमलाई मोड्न सफल प्रदेश सभा सदस्य विमला वलीले आफ्नै इच्छाले माओवादी केन्द्र रोजेको बताएकी छिन्। उनले पत्रकार सम्मेलन गरेर आफू खुसीसाथ माओवादी भएको बताइन्।
‘निर्वाचित भएको बेला मैले एमाले र माओवादी भन्ने पनि चिन्दैथेँ। तर, निर्वाचित भएपछि मैले माओवादीबाटै धेरै सहयोग पाएँ। त्यसैले कसैले आउनुपर्छ भनेर होइन, मेरै इच्छाले नै मैले माओवादी रोजेको हो’, वलीले भनिन्।
उनले आफू निर्वाचित हुँदै गर्दा पार्टी एक रहेको र नेकपाबाट निर्वाचन जितेको स्मरण गरिन्। ‘मेरो श्रीमान् एमालेबाट निर्वाचित हुनभएको थियो। म सामान्य गृहणी, श्रीमान्को निधनपछि एकाएक आएँ। त्यतिबेला मैले एमाले र माओवादी भन्ने पनि चिन्दैथेँ’, उनले भनिन्।
एकल बहुमतको मुख्यमन्त्री बन्ने प्रयासमा लागेका मुख्यमन्त्री शंकर पोखरेललाई उनको यो निर्णयपछि धक्का लागेको छ। एमालेका नेताहरुले उनको ‘अपहरण’ गरिएको प्रचार गरेका भए पनि उनले भने आफ्नै इच्छाले माओवादीमा लागेको बताएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।