काठमाडाैं- मानव अधिकारका क्षेत्रमा क्रियाशील ८ जनाले राष्ट्रिय मानव अधिकार आयोगको नियुक्तिको विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै संयुक्त वक्तव्य जारी गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, गोविन्द शर्मा पौडेल, कपिल श्रेष्ठ, मानव अधिकारकर्मी चरण प्रसाईं, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल र अधिवक्ता ओमप्रकाश सेन ठकुरीले संयुक्त विज्ञप्ति जारी गर्दै आयोगमा भएको नियुक्ति सच्चाउन माग गरेका छन्।
हालैमात्र संयुक्त राष्ट्रसंघको स्वतन्त्र विषय विज्ञ र्यापोर्टरहरूले गरेको टिप्पणीपछि उनीहरूले आयोगको नियुक्ति नेपालको संविधान, पेरिस सिद्धान्त र अन्य कानुन विपरीत भएकाले सच्चाउन आग्रह गरेका हुन्।
उनीहरूको विज्ञप्तिमा एम्नेष्टि इन्टरनेसन, ह्युम राइट वाच, आईसीजे र यातनाविरुद्धको विश्व महासंंघ (ओएमसीटी) लगायतले समेत प्रश्न उठाएको भन्दै आयोगमा पारदर्शी र संविधानको प्रक्रिया अनुसार नियुक्ति गर्न सरकारको ध्यानार्कषण गराएका छन्।
यसअघि नै आफूहरूले नियुक्ति प्रक्रिया गलत भएको भन्दै आएको अवस्थामा सुंयक्त राष्ट्रसंघका विज्ञहरूको टिप्पणीलाई उनीहरूले स्वागत गरेका छन्। उनीहरूले यसरी पटक-पटक आयोगको नियुक्तिमा प्रश्न उठेकाले सरकार गम्भीर भएर यसलाई सच्याउनेतर्फ लाग्न समेत आग्रह गरेका छन्।

यो पनि पढ्नुहोस् :
‘आयोगका पदाधिकारीलाई तत्काल राजीनामा गराएर नयाँ नियुक्ति गराैं’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।