काठमाडाैं- शीर्ष स्थानमा रहेकाे एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएकाे खेलमा जित हात पारेकाे छ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले रेलिगेसन जोनमा रहेकाे इल्चेलाई उसकै मैदानमा १-० गाेल अन्तरले पराजित गरेकाे हाे। एट्लेटिकोको जितमा पहिलो हाफमा मार्काेस लोरेन्टेले गरेको गोल नै निर्णायक बन्यो।
१६औं मिनेटमा लुइस सुआरेजले गोल गरेपनि अफसाइड ठहरिएकाे थियाे। त्यसकाे आठ मिनेटमा यान्निक कारस्कोको पासमा लोरेन्टेले गोल गरेका थिए।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इल्चेले पेनाल्टी पाएकाे थियाे। तर, फिडेल चाभेसको सदुपयाेग गर्न नसक्दा बराबरी टारेकाे थियाे।
याे जितसँगै शीर्ष स्थानकाे एट्लेटिकोले अंकदूरी ५ पुर्याएकाे छ। एट्लेटिकोको ३४ खेलबाट ७६ अंक पुगेको छ।
एक खेल कम खेलेका मड्रिड र बार्सिलोनाको ७१ अंक छ। चौथो स्थानमा रहेको सेभियाको ७० अंक छ। हारपछि इल्चे ३४ खेलबाट ३० अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ।
ला लिगामा अब चार राउन्डको खेल बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।