काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)भित्र सत्ता सहकार्यको विवाद तीब्र रूपमा बढेको छ। बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठकमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता भए सर्मथन गर्ने निर्णय गरेपछि विवाद झन सतहमै आएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सत्ता जोगाउन अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूलाई मन्त्री बनाएपछि विवाद चुलिएको थियो। भट्टराई-यादव पक्षले ती सांसदहरूलाई कार्यकारिणी समितिको बैठकबाटै निर्णय गरेर सांसद पदबाट निलम्वन गर्ने निर्णय गरेका थिए।
उक्त निर्णयको आधारमा जसपाका गण्डकी प्रदेश सभा सदस्यहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयले सांसद पद गुमाएका छन्। यो विवाद अब केन्द्रमा देखिन थालेको छ।
भट्टराई-यादव पक्षले बहुमतले निर्णय गरेपछि महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष भने अझै प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सत्ता सहकार्य हुने बताउँदै आएका छन्।
जसपा नेता केशव झाले सत्ता सहकार्य प्रधानमन्त्री ओलीसँगै हुने बताए। बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठकबाट ओलीविरुद्ध अविश्वासको प्रस्ताव आए पक्षमा मतदान गर्ने बहुमतले निर्णय गरेपछिको परिस्थितिका बारेमा सोधिएको प्रश्नमा जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका नेता झाले सर्वपक्षीय बैठक नबसेको दाबी गरे।
‘बैठक बसेको जानकारी छैन। हाम्रा मागहरू ओलीले सम्बाेधन गरिरहेका छन् त्यसलै अरुसँग सहकार्य गर्ने कुरै हुँदैन’, झाले भने, ‘यस्तो निर्णय कार्यकारिणीले गर्न मिल्दैन। कांग्रेसले ३२ जनाकै हस्ताक्षर मागेको छ। बहुमत मात्र भएर हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।