काठमाडाैं- लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्य आफूलाई कारबाही गर्ने जनता समाजवादी पार्टी (जसपा)को निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि जसपाका चार जनाले मन्त्रीको शपथ लिएका थिए। उनीहरूलाई जसपाको कार्यकारिणी समितिले (अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष) कारबाही गरेको पत्र बुझाएपछि बिहीबार प्रदेश सभा सचिवालयले पार्टी र प्रदेश सभा सदस्यबाट निष्काशन गरेको सूचना निकालेको थियो।
त्यसविरुद्ध निलम्वित सांसदहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय शुक्रबार सर्वाेच्च पुगेका हुन्। उनीहरूको निवेदन अध्ययनकै क्रममा रहेको छ। हाल कोभिड, बन्दी र अत्यावश्यक निवेदन मात्र दर्ता हुने भएकाले उनीहरूको निवेदन अध्ययनकै क्रममा रहेको सर्वाेच्च अदालतले जनाएको छ।
यता, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने सांसदहरूलाई कुनै पनि कारबाही नभएको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ। प्रदेश सभाले गरेको कारबाही गैरकानुनी भएकाले प्रदेश सभा सदस्यको रुपमा आफूहरु निरन्तर हुनुपर्ने रिटमा माग गरिएको छ। जसपा अध्यक्ष ठाकुर कारबाहीको निर्णयविरुद्ध शुक्रबार नै निर्वाचन आयोग पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।