काठमाडौं- नेकपा एमालेले वडा अधिवेशन भदौ ५ गतेका लागि तय गरेको छ। वैशाख ६, १० र १२ गते बसेको पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट गरिएको निर्णयहरु सहित जारी अन्तरपार्टी निर्देशनमा तहगत अधिवेशनको मिति उल्लेख गरिएको छ।
महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत र पारित संगठनात्मक प्रतिवेदनमा उल्लेख योजना अन्तर्गत वडा अधिवेशन भदौ ५, पालिका अधिवेशन भदौ १५, जिल्ला अधिवेशन भदौ ३० र प्रदेश अधिवेशन असोज २३ गतेका लागि तोकिएको छ। एमालेको महाधिवेशन २०७८ मंसिर २ देखि ६ सम्म गरिने यसअघि नै निर्धारण भइसकेको छ।
सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अध्यावधिक गरिने छ।
त्यस्तै, एमालेको विधान संशोधनमा केन्द्रित भएर छलफल एवम् निर्णय गर्न २०७८ साउन २५-२७ मा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गरिने छ।
एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको थियो। साथै, २६५ जना महाधिवेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।