काठमाडाैं- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीबार साँज भएकाे खेलमा ललितपुर सिटी एफसी र धनगढी एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलमा ललितपुर र धनगढीले १-१ गोलेको बराबरी खेलेका हुन्। धनगढीका लागि ओलावाले ओलाडिपो आफिजले गोल गरेका थिए। यता, ललितपुरका रन्जन विष्टले गोल फर्काएपछि खेल बराबरीमा सकिएकाे हाे।
खेलको ५औं मिनेटमा ललितपुरका कप्तान अन्जन विष्टले गोल गरेका थिए। तर, अफसाइड पोजिसनमा रहेकाे भन्दै उनकाे गाेलले मान्यता पाएन।
४३औं मिनेटमा कप्तान किरण चेम्जोङले अन्जनलाई एल्वो प्रहार गरेपछि रेफ्रीले ललितपुरलाई पेनाल्टी दिएकाे थियाे। तर, नुर्लान नोब्रुजोभ जाहिदको पेनाल्टीलाई किरणले सहजै बचाए।
७२औं मिनेटमा ओलावाले ओलाडिपो आफिजले गोल गर्दै धनगढीलाई १-० को अग्रता दिलाए। अशोक खवासले गरेको प्रहार अन्जन विष्टलाई डिफ्लेक्ट हुँदा ओलावालेले हेडरमार्फत जाली चुमाएका थिए।
७८औं मिनेटमा सब्सिच्युट रन्जन विष्टले पेनाल्टी बक्सभित्रबाट गरेको भली प्रहार गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए।
बराबरीमा रोकिएको धनगढी ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। समान ४ अंक रहेपछि बुटवल लुम्बिनी शीर्षस्थानमा रहेको छ।
बराबरीपछि ललितपुरले ३ खेलबाट २ अंक जोडेर पुछारमा रहेको छ। एक खेल कम खेलेको विराटनगर तेस्रो काठमाडौं चौथो र पोखरा पाँचौ स्थानमा रहेको छ। चितवन २ अंक जोडेर छैटौ स्थानमा रहँदा २ अंक जोडेको ललितपुर पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।