काठमाडौं- लुम्बिनी प्रदेशमा ४ जना प्रदेश सभा सदस्य पदमुक्त भएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले त्यहाँका सभामुखलाई लेखेको पत्र सार्वजनिक भएको छ। ठाकुरले लुम्बिनीका सभामुखलाई पत्र लेखेर प्रदेश सभा सदस्यलाई कारबाही नगरिएको बताएका छन्।
‘केन्द्रीय स्तरबाट लुम्बिनी प्रदेस सभा सदस्यहरुलाई कुनै कारबाही नभएको व्यहोरा समेत अनुरोध छ’, ठाकुरको पत्रमा भनिएको छ।
बिहीबार मात्रै प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरेर शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा मन्त्री भएका जनता समाजावादी पार्टीका ४ जना सदस्यहरु पदमुक्त भएको जानकारी गराएको थियो।
‘सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, मुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा र पार्टी सदस्यबाट निष्कासन गरिएको सूचना राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १९१ बमोजिम हाल प्रदेश सभा बैठक चालु नरहेकोले सचिवालयको सूचना पाटीमा आदेशानुसार टाँस गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ’, प्रदेश सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनामा भनिएको छ।
मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकाहरु नै केही घण्टामै मन्त्री बन्न गएपछि जसपा लुम्बिनीमा विवाद रहँदै आएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।