काठमाडाैं- आफू नेतृत्वको सरकार ‘टिकाउन’ अनेक प्रयत्न गर्दै आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विवादित व्यक्ति राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाएका छन्।
सत्ता टिकाउन एकपछि अर्को दाउपेच गरिरहेका मुख्यमन्त्रीको बिहीबार अर्को अस्त्र प्रयोग गरे। स्वतन्त्र सांसदको दाबी गर्दै आएका मनाङे बुधबारको संसद् बैठकमा उपस्थित भएनन्।
बुधबार अविश्वासको प्रस्ताव निर्णायार्थ संसद्मा प्रस्तुत हुने अवस्था सत्ता पक्षकै कारण नभएको विपक्षी दलको आरोप छ। निर्णायक मत मानिएको जनमोर्चाका एक सांसद सम्पर्कविहीन बनाएर मतदान प्रक्रियालाई अवरुद्ध बनाएको विपक्षी दलको आरोप छ।
मुख्यमन्त्री गुरुङले सत्ता टिकाउन यसअघि पनि ‘हत्कण्डा’ गरेको प्रतिपक्षी दलको आरोप छ। वैशाख १ को मध्यराति संसद बैठक हठात् अन्त्य गरेपछि विपक्षी दल उनीसँग रुष्ट भएका थिए। अविश्वासको प्रस्ताव आउने सुइँको पाएसँगै मध्यरातमा संसद् बैठक अन्त्य भएको घोषणा गरिएको थियो। वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता गरेका विपक्षी दलले सोही दिन प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र लेखि संसद्को विशेष अधिवेशन माग गरेका थिए।
विपक्षी दलको समावेदनपछि मुख्यमन्त्री गुरुङले संसद्लाई फेस गर्न बाध्यात्मक अवस्था सिर्जना भयो। आफ्नो पक्षमा बहुमत पुग्ने नदेखेसँगै बालुङ-२ ‘ख’का जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई ‘सम्पर्कविहीन बनाइयो।’
सत्ता टिकाउने ‘असफल प्रयास’ मुख्यमन्त्रीले बुधबार गरेका थिए। विपक्षीको कसैगरी बहुमत पुर्याउन नदिने कसरतमा रहेका गुरुङको कदमलाई अस्पतालमा रहेका शाहीले सहयोग नगर्ने जनाउ दिइसकेका छन्। पार्टी तथा संसदीय दलको निर्णयको आधारमा अविश्वासको प्रस्तावको पक्षमा कटिवद्ध रहेको उनले बिहीबार विज्ञप्तिमार्फत् प्रष्टाएका छन्।
संसद्को अंक गणितमा बहुमतका लागि मनाङेको मतलाई विपक्षी दलले जोडेका थिएनन्। तसर्थ, उनी मन्त्री बनेपनि विपक्षीको अंकमा कुनै फेरबदल आउने देखिँदैन। कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका ३१ सांसद छन्। बहुमतका लागि ३१ मत नै आवश्यक पर्दछ। विपक्षी दलको मतमा हेरफेर भएमात्रै गुरुङको सत्ता टिक्नसक्छ।
जनमोर्चालाई समेत मन्त्री दने मुख्यमन्त्रीले आश्वासन दिएपनि उसले नलिने बताइसकेको छ। पार्टीको केन्द्रीय नीति अनुसार मन्त्री लोभमा नपर्ने र मुख्मन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने राजमोको निर्णय छ।
गुरुङको पक्षमा एमालेका २८ मत छन्। यसमा माधवकुमार नेपाल पक्षका एक जना सांसद छन्। मन्त्री बनेका मनाङेलाई थप्दा मुख्यमन्त्रीलाई २९ मत पुग्छ। यद्यपि, नेपाल पक्षका सांसद इन्द्रलाल सापकोटाले आफूलाई नै मतदान गर्छन् भन्नेमा मुख्यमन्त्री गुरुङ स्वयं विश्वस्त छैनन्।
उनलाई सत्ता टिकाउन थप २ मत आवश्यक पर्दछ। त्यसका लागि विपक्षी दलले ‘फ्लोर क्रस’ गर्नैपर्ने हुन्छ। फ्लोर क्रसको सम्भावना रहेको जनमोर्चा अविश्वासको प्रस्तावप्रति प्रतिवद्ध रहेपछि गुरुङलाई बहुमत जुटाउन कठिन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।