काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा मृत्यु संस्कार र अत्यन्त जरुरी कार्य बाहेकका लागि पास वितरण नहुने जनाएको छ।
बिहीबारदेखि निषेधाज्ञा लागू भएसँगै पास बनाउनेको घुइँचो लागेपछि जिल्ला प्रशासन कार्यालयले अनावश्यक सन्दर्भमा पास वितरण नगर्ने जनाएको हो।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरु, विरामी तथा करुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्था, बिमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थाका कर्मचारीहरु र विमानस्थल जाने तथा आउने यात्रुका लागि पासको आवश्यकता नपर्ने जनाएको छ। यस्ता कार्यमा अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ नम्बरमा फोन गर्न पनि प्रशासन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।