पोखरा– गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको केही समयको अन्तरालमा कोरोना परीक्षणका फरक–फरक नतिजा आएकोप्रति जनस्वास्थ्य प्रयोगशाला गण्डकीले स्पष्टीकरण दिएको छ।
डल्फिन एलएमआइएसमार्फत नमूनाको रेकर्डिङ तथा रिपोर्टिंग गर्दै आइरहेको प्रयोगशालाले प्रष्टाएको छ। प्रयोगशालाकी निमित्त निर्देशक सपना सुबेदीले सबै प्राप्त नमूनाको दर्ता र रिपोर्ट इन्ट्री एकै समयमा गरिने हुनाले डल्फिन सफ्टवयर मार्फत जेनेरेट हुने रिपोर्टमा संकलनको समय रिपोर्टिङकै समय अनुसार आएको बताएकी छन्।
शाहीको स्वाबको नमूना संकलन बुधबार दिउँसो ३ बजे चरक अस्पतालबाट प्रयोगशालालाई प्राप्त भएको उनले जानकारी गराएकी छन्। उक्त स्वाब सोही दिन दिउँसो ४ बजे परीक्षण शुरु गरी बेलुका ८ बजे रिपोर्ट आएको प्रयोगशालाले प्रष्टाएको छ। बेलुका ८:१५ बजे सफ्टवयरमा दर्ता र रिपोर्ट एकै साथ आएको जनाइएको छ।
इलेक्ट्रोनिक जेनेरेटेड रिपोर्टमा कार्यालयको छाप नहुने समेत प्रष्टाइएको छ। परीक्षण गरिएका पोजिटिभ नमूनाहरु ३ महिना र नेगेटिभ नमूनाहरु १ महिनासम्म सुरक्षित राखिने प्रयोगशालाले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट बाह्य गुणस्तर नियन्त्रण गरिदै आइरहेको र शतप्रतिशत नतिजा मेल खाएको प्रयोगशालाको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।