काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणमा एकजुट हुन अपिल गरेका छन्।
उनले संक्रमण नियन्त्रणका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारहरूले गरिरहेका प्रयासलाई थप प्रभावकारी बनाउन र यसमा साथ दिन सबैसँग आग्रह गरेका हुन्।
कोरोनाको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिरहेको तथा यसको संक्रमण र मृत्युदर दुवै बढिरहेकोप्रति उनले दुःख व्यक्त गरेका छन्।
‘काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरू हुनुअघि हजारौं मानिसले उपत्यका छोडेर घर फर्कन लाग्दाका दृश्यहरू दुःखद् छन्। निषेधाज्ञाले हाम्रो दैनिक जनजीवन अझै कष्टकर हुनेछ। भर्खरै लयमा फर्कन लागेको मुलुकको अर्थतन्त्रमा ठूलो असर पर्नेछ। यसको असर हामीले दीर्घकालसम्म भोग्नुपर्नेछ। तर, कोरोना भाइरस रोथकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाजस्तो अप्रीय निर्णय कार्यान्वयन गर्नुको विकल्प छैन,’ उपराष्ट्रपतिद्वारा बुधबार जारी अपिलमा उल्लेख छ।
उनले थप भनेका छन्, ‘निषेधाज्ञा अवधिमा कोरोना भाइरस परीक्षणलाई तीव्र बनाउन र संक्रमितहरूको प्रभावकारी उपचार गर्नुपर्दछ। यस अवधिमा परीक्षणलाई तीव्र बनाउन, गम्भीर खालका संक्रमितहरूको उपचारको व्यवस्था गर्न, अक्सिजनलगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको व्यवस्था गर्न र बढी प्रवभावित क्षेत्रमा थप चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गर्न ध्यानाकर्षण गराउन चाहन्छु। साथै, कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरूपमा तीव्र बनाउनसमेत ध्यानाकर्षण गराउन चाहन्छु।’
उपराष्ट्र पुनले कोरोना नियन्त्रणका लागि अग्रमोर्चा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतप्रति सम्मान व्यक्त गरेका छन्।
‘कोरोना भाइरसविरुद्धको संघर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै जितिँदैन। यसमा आम जनताको पूर्ण साथ र सहयोग चाहिन्छ। जस्तोसुकै अप्ठ्याराहरूमा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकूलतामा बदल्ने हाम्रो विगत हो,’ उनले भनेका छन्, ‘म कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेका नियमहरुको पूर्ण पालना गर्न, आफू सुरक्षित रहन र अरूलाई पनि सुरक्षित राख्न आम दिदीबहिनी तथा दाजुभाइहरूमा अपिल गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।