भरतपुर– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चितवन जिल्लामा दुई साताका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले वैशाख १६ गते बिहीबार मध्यरातदेखि लागू हुने वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
निषेधाज्ञाका क्रममा अत्यावश्यक काम बाहेक सर्वसाधारणले जथाभावी हिँडडुल गर्न पाउने छैनन्। यस्तै, सभा, सम्मेलन, गोष्ठी सेमिनार सञ्चालन, जात्रा र महोत्सवमा प्रतिवन्ध लगाइएको छ।
भौतिक उपस्थित भई कक्षा सञ्चालन गर्न विद्यालय र क्याम्पसलाई रोक लगाइएको छ। निषेधाज्ञाका क्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी कारखाना भने सञ्चालन गर्न पाइने छ। कारखानाहरुले कामदारलाई खाना आवासमै मिलाउन भनिएको छ।
निषेधाज्ञाका क्रममा राष्ट्रिय जनगणनाका कार्यक्रम भने स्वास्थ्य मापदण्ड अपनाएर गर्न सकिने जनाइएको छ।
पछिल्लो २४ घण्टामा मात्रै चितवन जिल्लामा १४७ जना संक्रमित थपिएका छन्। थपिएका संक्रमित समेत गरी चितवनमा सक्रिय संक्रमितको संख्या ७०१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।