काठमाडौं– तीन दिनअघि पोखराका व्यवसायी रिजन रिजालले ‘हेल्प पोष्ट’ भन्दै प्लाष्टिकको बोतलले भरिएको तस्बिर राखे। जहाँ लेखे, ‘यो पोखराको ड्यामसाइडमा लिइएको तस्बिर हो।’
त्यसैमा थपे– प्लाष्टिकको नदी। यो फोहर हाम्रो नहुन सक्छ तर यो पृथ्वी हाम्रो हो। कसैलाई आरोप नलागाउँ र अपेक्षा पनि नगरौं । हामी गर्न सक्छौं। यो ठाउँ सफा गरौं।

फेवातालको चमकमुनि लुकेको यो ड्यामसाइडको फोहरले धेरैको आँखा बिझायो। त्यही तस्बिर राखेर सफाइका लागि आग्रह गर्नेहरु बढे। केही व्यक्ति तुरुन्तै जुटे। सामाजिक सञ्जालमा फैलिएको त्यो तस्बिरलाई हेरेर सफा गर्न पुगे ५० भन्दा बढी व्यक्ति। जसले दुई दिनमा प्लाष्टिकको नदीलाई पूर्व स्वरुपको नहरमा फर्काइदिएका छन्।
सफा गरेपछि फेरि त्यहीँ पुगेका रिजनले देखे, ‘नहर सफा भयो, माछा आए र माझी पनि आए।’
सफा भएको भोलिपल्ट उनले माझीसँग कुरा गरे। जसले उनलाई आफ्ना कर्मप्रति गर्वबोध गरायो। लामो समयपछि त्यो छेउमा माझी आइपुगेका रहेछन्। उनीहरु अनुभूति सुनाउँदै थिए, ‘साह्रै गन्हाउँथ्यो, त्यही भएर यता आइन्नथ्यो। अहिले त सफा भयो। माछा पनि आए। सितल हुने भएकाले हामी पनि यतै आयौं।’

रिजनले नरहको यो दुर्दशा बिहान हिँड्ने क्रममा देखेका थिए। उनले यसलाई यत्तिकै नजरअन्दाज गरेर बस्न चाहेनन्। एउटा अभियानका रुपमा अघि बढाउने सोच बनाए। जसले त्यसको रुप फेरिएको छ।
यस्ता सामाजिक कर्ममा उनी जोडिएको पहिलोपल्ट होइन। तर, आफैंले नेतृत्व लिएको पहिलोपटक हो। यसले उनलाई आगामी दिनमा सामाजिक कार्यमा नेतृत्व लिन हौस्याएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।