काठमाडाैं- पेरिस सेन्ट–जर्मेन (पीएसजी)का प्रशिक्षक माउरिसिओ पोचेटिनोले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलासँग व्यक्तिगत लडाइँ नहुने बताएका छन्। बुधबार च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो चरणमा यी दुई क्लब आमनेसामने हुँदै छन्।
२०१९ मा क्वार्टरफाइनलमा पोचेटिनोले ग्वार्डिओलाको टोलीविरूद्ध जित हात पारिसकेका छन्।
प्रिमियर लिगमा यी दुई प्रशिक्षकको धेरैपटक भेट भइसकेको छ। पोचेटिनोलाई इंग्लिस क्लब टोटनह्यामले सन् २०१९ को नोभेम्बरमा बर्खास्त गरेको थियो।
टोटनह्यामले पोचेटिनोलाई बर्खास्त गरेर जोसे मोउरिन्होलाई मुख्य प्रशिक्षक बनाएको थियो।
‘यो व्यक्तिगत लडाइँ होइन, यो व्यक्तिगत खेल होइन,’ पोचेटिनोले भने,‘यो दुई उत्कृष्ठ टोलीबीचको लडाइँ हो।’
ग्वार्डिओलाले २०१७ मा पदभार ग्रहण गरेपछि सिटीलाई पहिलोपटक च्याम्पियन्स लिग प्रतियोगिताको सेमिफाइनलमा पुर्याएका हुन्।
उनले गतवर्षको उपविजेताविरूद्ध कडा चुनौतीको सामना गर्दैछन्, जसले बार्सिलोना र डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकलाई यस सिजन हराएको थियो।
पीएसजीको सामना गर्नु एक राम्रो मौका भएको बताउँछन् ग्वार्डिओला।
‘हामी यस प्रतिस्पर्धाको एलिटमा छैनौं, तर हामी पक्कै त्यहाँ हुन चाहन्छौं। यो खेलले सिटी युरोपको सर्वश्रेष्ठमा पर्छ वा पर्दैन भनेर प्रमाणित गर्छ। प्रिमियर लिग सबैभन्दा महत्त्वपूर्ण हो, तर च्याम्पियन्स लिग सबैभन्दा राम्रो हो, मलाई लाग्छ,’ उनले भने।
सिटी बलियो देखिएको टिम छ। प्लेइङ सेटमा मात्र होइन, बेञ्चमा पनि उत्तिकै बलियो खेलाडी देखिएको छ।
ग्वार्डिओलाको प्रमुख रोजाइमा सर्जियो अग्युरो, ग्याब्रियल जिसस, इल्के गुन्डोगन, रहिम स्टार्लिङ, रियाद महरेज रहेका छन्। उनीहरु सबै लयमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।