बाँके– कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा संक्रमण तीब्र रुपमा फैलिएर बिरामीले बेड र अक्सिजन नै नपाउने अवस्था आएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल, कोहलपुरलाई ३ सय बेडको कोरोना डेडिकेटेड अस्पताल बनाउने भएको छ।
आउँदो वैशाख २० गतेदेखि सञ्चालन हुने कोरोना डेडिकेटेड अस्पतालमा कोरोनाका शंकास्पद बिरामी, गम्भीर बिरामी र सामान्य बिरामी राख्ने अलग–अलग व्यवस्था हुनेछ।
शंकास्पद बिरामीका लागि ५० बेडको प्रि–आइसोलेन वार्ड सञ्चालन हुने अस्पतालका निर्देशक डा. नितेश कनोडियाले बताए। त्यस्तै अस्पतालमा भर्ना हुने सिकिस्त बिरामीका लागि ५० बेडको आइसीयू कक्ष सञ्चालन हुनेछ। आइसीयूमा भर्ना हुने बिरामीका लागि आवश्यकता अनुसार हाइ–फ्लो नोजल क्यानलासहित भेन्टिलेटरको व्यवस्था मिलाइएको उनले बताए।
कोरोना संक्रमण भएर लक्षण भए पनि स्वास्थ्य अवस्था सामान्य रहेका बिरामीका लागि अन्य २ सय बेडमा अक्सिजन सहितको उपचार सुविधा मिलाइने भएको छ।
कोरोना डेडिकेटेड अस्पतालमा १ सय २० जना चिकित्सक, ३ सय जना स्टाफ नर्स तथा ल्याब र सरसफाइकर्मीसमेत करिब २ सय जना थप कर्मचारीहरु खटिने डा. कनोडियाले जानकारी दिए।
यसअघि नेपालगञ्ज मेडिकल कलेजले वैशाख ३ गतेदेखि शिक्षण अस्पताल कोहलपुरमा ५० बेडको कोरोना वार्ड र त्यसको एक हप्तापछि १ सय बेडको कोरोना वार्ड सञ्चालन गर्दै आएको छ। हाल कोरोना वार्डमा २८ जना सिकिस्त विरामीसहित ४८ जनाको उपचार भइरहेको छ।
बाँकेमा पछिल्ला दिनमा दैनिक करिब ५ सयको संख्यामा संक्रमितहरु थपिने गरेका छन्। छिमेकी जिल्लाहरुमा पनि संक्रमण बढ्दै जाँदा बिरामीले बेड नै नपाउने अबस्था आउन नदिन शिक्षण अस्पताल कोहलपुरलाई ३ सय बेडको कोरोना डेडिकेटेड अस्पताल बनाउन लागिएको अस्पतालका निर्देशक डा. कनोडियाले बताए।
शिक्षण अस्पताल कोहलपुरलाई कोरोना डेडिकेटेड अस्पतालमा परिणत गरिएपछि डायलासिसलगायतका अन्य सेवाहरु भने नेपालगन्जस्थित शिक्षण अस्पताल (नर्सिङ होम) बाट दिने ब्यबस्था मिलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।