काठमाडौं– विवेकशील साझा पार्टीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भनेर लकडाउन गरेर आफ्नो दायित्व नबिर्सन सरकारको ध्यानाकर्षण गराएको छ।
कोभिड १९ को दोस्रो लहरले देशको राजधानीसहित केही जिल्लामा भयावह स्थिति सिर्जना गरिसकेको अवस्थामा सङ्क्रमणको जालो तोड्न लकडाउन गर्नु अत्यावश्यक भइसकेको विवेकशील साझा पार्टीको भनाइ छ।
तर, विगतको लकडाउनमा जस्तै नागरिकलाई घरभित्र राखेसँगै सरकारले आफ्नो दायित्व भुल्न नहुने उक्त पार्टीको भनाइ छ।
विवेकशील साझा पार्टीले तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै सरकारलाई ५ बुँदे सुझाव समेत दिएको छ। विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले एक वक्तव्य जारी गर्दै कोरोना संक्रमितको उपचारका लागि अक्सिजन र आइसीयू बेडको व्यवस्था गर्न आग्रह समेत गरेका छन्।
प्रेस विज्ञप्ति
सरकार, लकडाउन गरेर आफ्नो दायित्व चाहिँ नबिर्स
कोभिड १९ को दोस्रो लहरले देशको राजधानीसहित केही जिल्लामा भयावह स्थिति सिर्जना गरिसकेको अवस्थामा सङ्क्रमणको जालो तोड्न लकडाउन गर्नु अत्यावश्यक भइसकेको थियो।
तर, विगतको लकडाउनमा जस्तै नागरिकलाई घरभित्र राखेसँगै सरकारले आफ्नो दायित्व नभुलोस् भन्नेतर्फ सचेत गराउँदै हामी सरकारलाई निम्न सुझाव तत्काल कार्यान्वयनका लागि आग्रह गर्दछौँ।
१) सङ्क्रमणको दोस्रो लहरको अहिलेको सुरुवाती अवस्थामा नै केही अस्पतालमा अक्सिजन र आइसियु शय्यासहित जनशक्ति अभावले भयावह स्थिति देखिइसकेकाले हर सम्भव उपाय लगाएर तत्काल समस्या समाधान। अस्पतालहरूमा बिग्रिएका अक्सिजन प्लान्ट मर्मतदेखि सिलिन्डर आयातमा आवश्यक तदारुकता।
२) कोरोना परीक्षणलाई व्यापक बनाइ कन्ट्याक्ट ट्रेसिङमा जोड।
३) क्वारेनटिन तथा आइसोलेसन सेन्टरहरूको आवश्यक व्यवस्थासहित प्रभावकारी व्यवस्थापन।
४) दैनिक ज्याला मजदुरी गरेर साँझ बिहान छाक टार्ने वर्गका लागि लकडाउन अवधिमा स्थानीय सरकारका प्रतिनिधिहरूद्वारा नागरिक समूहहरूको सहयोगमा खाद्य सामग्री वितरणसहित आवश्यक रेखदेख।
५) कोभिड १९ विरुद्धको खोप केन्द्रहरूमा देखिएको भद्रगोलपूर्ण व्यवस्थापन सुधार गरी भिडभाड नियन्त्रण।
कोभिड १९ को सङ्क्रमण नियन्त्रण राज्य र नागरिकको संयुक्त र सुझबुझपूर्ण पहलकदमीबाट मात्र सम्भव हुने हुँदा विवेकशील साझा पार्टी यो महाव्याधिको कहरबाट यथाशीघ्र मुक्ति पाउन जिम्मेवार पूर्ण व्यवहारका लागि पार्टीका सदस्यसहित आम नागरिकलाई हार्दिक अपिल गर्दछ।
शरदराज पाठक
प्रवक्ता, विवेकशील साझा पार्टी
१४ वैशाख, २०७८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।