काठमाडौं- फुटबल र क्रिकेट खेलहरुमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय नागरिकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट आइतबार उनीहरुलाई पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेहरुमा कैलालीको धनगढी नगरपालिका-२ घर भई बनस्थली बस्ने ३१ वर्षीय अशोक सिंह, भारतको बिहार सितामढी घर भई ठमेल बस्दै आएका २९ वर्षीय बिक्रमकुमार कलवार, रौतहटको गौर नगरपालिका-१ घर भई ठमेल बस्ने २८ वर्षीय राहुलकुमार जैसवाल, मोरङको विराटनगर-३ घर भई कालिमाटी बस्ने ३० वर्षीय सन्दीपकुमार मण्डल छन्।
त्यसैगरी, काभ्रेको चौरीदेउराली गाउँपालिका-८ का ३६ वर्षीय राजु थापा, धादिङको गल्छी गाउँपालिका-२ का ३१ वर्षीय सन्तोष खतिवडा, भारत हिमान्चल सोलन थाना घर भई काठमाडौं बस्दै आएका ४६ वर्षीय सुशील जेस्टा, भारत राजस्थान प्रदेश सुजनगढ थानाका ३१वर्षीय पवनकुमार शर्मा, राजस्थानकै ३० वर्षीय सुचित अग्रवाल र भारत मोतिहारीका ४० वर्षीय मुकेश जैसवाल छन्।
उनीहरुले भारतमा सञ्चालन भइरहेको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट, प्रिमियर लिग फुटबल, ला-लिगा, सिरी ए, लिग वान, च्याम्पियन्स लिगलगायतका खेलहरुमा सट्टेबाजी खेलाएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए।
अनलाइन सट्टेबाजी खेलाउने गरेको भन्ने सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौं झोंछेबाट भारतीय नागरिक जेस्टालाई पक्राउ गरेको थियो। उनको झोलाबाट सट्टेबाजी खेलाउन प्रयोग भएको मोबाइल २ थान, सट्टेबाजीको हिसाबकिताब राखिएको डायरी बरामद गरेको महाशाखाले जनाएकाे छ।
त्यस्तै, लाजिम्पाटस्थित खोलागल मार्गमा रहेको रमेश हमालको अपार्टमेन्टको चौथो तल्लामा रहेको कोठा नम्बर ११० बाट अग्रवाल र शर्मालाई पक्राउ गरिएको एसपी कोइरालाले बताए।
उनीहरुको कोठा सट्टेबाजीको हरहिसाब गरिएको कागजका टुक्राहरु, विभिन्न रकमको विवरण र कोडसमेत लेखिएको कागजातहरु र मोबाइल ४ थान फेला परेको थियाे।
उनीहरुको बयानबाट जमलस्थित एक घरमा पुग्दा ह्वाट् एपबाट सट्टेबाजी गराइरहेको अवस्थामा भारतीय नागरिक जैसवाललाई पक्राउ गरिएको हो। ठमेलबाट पक्राउ परेका सिंहको ह्वाट् एपमा पनि सट्टेबाजीसँग सम्बन्धित विवरणहरु फेला परेको एसपी कोइरालाले जानकारी दिए।
काठमाडौं-२६ स्थित होटल सनवेको चौथो तल्लामा अंकितकुमार लगायत ६ जनाले विभिन्न कम्पनीका मोबाइलमा सट्टाबाजी गराएर खेल खेलाइरहेको अवस्थामा पक्राउ गरिएकाे थियाे ।
उनीहरुकाे साथबाट प्रहरीले १७ थान मोबाइल र २ लाख ९६ हजार रकम बरामद गरेको छ। उनीहरुले भारत लगायत अन्य मुलुक समेतबाट सट्टेबाज गर्नको लागि युजर आइडी र पासवर्ड लिई कमिसनमा खेल खेलाउने, ग्राहकहरु खोज्ने, हार जीत भएका ब्यक्तिहरुलाई रकम लिने-पुर्याइदिने गरेकाे पनि अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका ११ जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम कसुरमा अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।