काठमाडौं– बार्सिलोनाको जित तथा एथ्लेटिको म्याड्रिडको हारसँगै स्पेनिस ला लिगाको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियललाई हराएको हो भने एथ्लेटिको म्याड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित भएको हो।
आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई २–१ गोल अन्तरले हरायो। १–० ले पछि परेको स्थितिमा एन्टोनी ग्रिजम्यानले दुई गोल गरेपछि बार्सिलोनाले घरेलु टोलीविरुद्ध जित हात पारेको हो।
घरेलु टोली भिल्ला रियलका लागि खेलको २६औँ मिनेटमा स्यामुएल चुकउन्जेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटमै ग्रिजम्यानले काउन्टर गोल गरेपछि बार्सिलोनाले खेल बराबरीमा ल्याएको थियो।
खेलको ३५औँ मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना २–१ ले विजयी बन्यो । पहिलो हाफमै प्राप्त २–१ को नतिजा सहित बार्सिलोनाले ३ अंक जोड्यो।
त्यस्तै, आइबार राति नै भएको खेलमा शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिड भने एथ्लेटिक बिल्बाओसँग पराजित भयो। घरेलु टोली बिल्बाओले खेलको शुरुवातमा नै एलेक्स बेरेंगुयरको गोलको मद्दतलेअग्रता लिएको थियो ।
तर, दोस्रो हाफमा स्टेफन साभिचले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए। यद्यपि, खेलको अन्त्यतिर इनिगो मार्टिनेज गरेको गोलसँगै एथ्लेटिको स्तब्ध बन्यो।
पराजयपछि पनि एथ्लेटिको म्याड्रिड अंक तालिकामा भने अग्र स्थानमै छ। उसको ७३ अंक हुँदा दोस्रो र तेस्रो स्थानमा रहेको रियल म्याड्रिड र बार्सिलोनाको २ अंक कम छ।
रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडले समान ३३ खेल खेलेका छन् भने बार्सिलोनाले एक खेल कम खेलेको छ। बिहीबार हुने खेलमा ग्रानाडालाई हराएमा बार्सा लिगको शीर्ष स्थानमा उक्लिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।