काठमाडौं–औषधिजन्य लागु औषधसहित नागढुंगाबाट दुई जना पक्राउ परेका छन्।
लागु औषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी प्रभागको संयुक्त टोलीले लागु औषधसहित दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो। पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ का ४७ वर्षीय लालबाबु नदाफ र सोही ठाउँका २७ वर्षीय अली हुसेन रहेका छन्।
महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२७ नम्बरको यात्रुबाहक बसमा जाँच गर्ने क्रममा उनीहरु लागु औषधसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता रमेश बस्नेतले बताए।
उनीहरुको साथबाट प्रहरीले औषधिजन्य लागु औषध नाइट्राजेपाम ४ हजार ४९८ ट्याब्लेट बरामद गरेको छ। पक्राउ परेका दुबै जनाविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।