काठमाडाैं- प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले वीरेन्द्र अस्पताल भवनको शिलान्यास गरेका छन्। नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषले छाउनी परिसरमा आधुनिकीकरण गरी निर्माण गर्न लागेको उक्त अस्पताल भवनको शनिबार शिलान्यास गरिएको हो। अस्पताल ७५० शय्या क्षमताको हुनेछ।
सो अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहासको सम्मान र आगामी दिनहरुको लागि नव निर्माण गर्दै 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताएका थिए। उनले यस महत्त्वपूर्ण कार्यमा नेपाली सेनालाई सफलताको शुभकामना दिए।
पाँच सय जना घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको उक्त अस्पताल पूर्णरुपमा सञ्चालनमा आएपश्चात् नेपालकै नमुना अस्पतालको रुपमा कार्य सञ्चालन गरी रिसर्चलगायत अन्य ३० प्रकारका मेडिकल सेवाहरु प्रदान गर्ने र विपद्को अवस्थामा छ हजार जनासम्मलाई उपचार गर्ने क्षमता रहने नेपाली सेनाले जानकारी दिएको छ। २०७ रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालमा अबको सात वर्षमा सेवा सुरु हुने र १० वर्षभित्र पूर्णरुपमा सञ्चालन हुने योजना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।