कपिलवस्तु– सुनजस्तो देखिने पहेँलो धातुको डल्लोसहित कपिलवस्तु प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
कपिलवस्तु नगरपालिका-१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातु, १ थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लोसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा शुद्धोधन गाउँपालिका-५ बस्ने २० वर्षीय हरिचन्द यादव र सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद कुमार तिवारी रहेका छन् ।
उक्त स्थानमा नक्कली सुन बिक्री गर्नको लागि केही व्यक्ति हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।